सुर्खेत : आफुलाई सामाजिक अभियान्ताको नामले चिनाउने ज्ञानेन्द्र शाहीले सरकारपक्षका व्यक्तिबाट आफुमाथि आक्रमण भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लाईभ भिडियोमा बोल्दै यस्तो आरोप लगाएका हुन् ।
उनले भनेका छन, ‘योजना बदलारुप हामी माथि सरकार पक्षका मान्छेबाट आक्रमण भयो । सुर्खेत प्रहरीले झुट बोल्दैछ ।’ तर, शाहीले प्रहरीलाई झुटको आरोप लगाईरहँदा प्रहरीले भने यस घटनालाई आक्रमण नभई झडपको रुपमा लिएको बताएको छ ।
‘गएराती राती झण्डै ११ बजेको समय हुनुपर्छ । शाहीको समूह वीरेन्द्रनगर आउँदै थियो । एताबाट स्थानीय (सामान्य मजदुर) घरतिर फर्किदै थिए’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले भने ‘वीरेन्द्रनगरस्थित करेखोलामा जम्का भेट भयो । त्यसपछि दुबै समुहबीच बोलाबोल भयो । त्यसपछि हात हालाहाल भयो ।’
घर्तीले झडपमा दुबै समुहका व्यक्तिहरु घाईते भएको बताए । उनले भने ‘ज्ञानेन्द्र शाहीले आरोप लगाएजस्तो यो घटना देखिन्न । उहाँहरुको राजनीति पृष्ठभूमि के हो त्यो थाह भएन् । तर राननीतिक दलबाट परिचालित जस्तो लाग्दैन् । लेबर काम गर्ने स्थानीय युवाहरु हुन् । राजनीतिबारे खासै जानकारी राख्ने जस्तो युवाहरु छैनन् ।’
घर्तीले स्थानीय पाँच जना प्रहरीको नियन्त्रणमा रहेको पनि बताए । घटनाको थप बुझ्नुपर्ने भन्दै प्रक्राउ परेकाहरूको विवरण खुलाइएको छैन् । ज्ञानेन्द्र शाही राहत बाँड्नका लागि सुर्खेत आएको बताईएको छ । शाहीमाथि यसअघि पनि सुर्खेतमा दुई पटक यस्तो घटना घटेको छ । स्थानीयले भने करेखोलामा राहत बाँड्न पुगेको अबस्थामा निषेधाज्ञाको समयमा किन गाउँ छिरेको भन्दै स्थानीयले प्रतिवाद गरेपछि झडप भएको बताएका छन् ।
झडपमा दुवै पक्षका दर्जन बढी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको र प्रदेश अस्पतालमा उपचार भएको छ । सामाजिक सञ्चालमा राखिएको भिडियोमा शाहीले आफूसहित कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोकबहादुर रोकाय, राजेश महत, शान्त शर्मा, सीता आचार्य, खगेन्द्र बजगाईं महेश बिसी लगायतको टोलिमाथि आक्रमण भएको बताएका छन् । शाहीको समूह निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई राहत तथा उद्दारका लागि जुटिरहेको छ ।
यो पनि पढौँ
सुर्खेतमा कुटिए अभियान्ता ज्ञानेन्द्र शाही [भिडियो]