चितवन : यसअघि मापदण्डमा परेर पनि कोरोना विरुद्धको खोप लगाउन वास्ता नगरेकाहरूले यस पटक खोप लगाइदिन दबाव दिएका छन् । जिल्लामा आज र भोलि गरेर ११ हजार जनालाई खोप लगाइँदै छ । जिल्लाका सात पालिकाका ७९ केन्द्रमार्फत खोप लगाउन लागिएको हो । विसं २०१४ जेठ २५ गतेदेखि २०१६ जेठ २५ गतेभित्र जन्मिएका वृद्धवृद्धालाई मात्रै खोप लगाइने छ । मापदण्डमा नपरेका र छुटेकाले सम्बन्धित स्वास्थ्य कार्यालयमा दबाव दिँदै आएका छन् । राजनीतिक दल, पद र प्रतिष्ठाको धाक लगाउँदै उक्त समूहमा नपरेकाहरूले पनि ‘खोप लगाइदिन प¥यो’ भन्दै दबाव दिन थालेका हुन् ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले तोकिएको उमेर समूहबाहेकका कसैलाई पनि खोप लगाउन सम्भावना नै नरहेको बताए ।उनले भने, “थेग्नै नसक्ने गरी दबाव आएको छ ।” उनले सरकारले निश्चित उमेर समूह र सङ्ख्या तोकेर निश्चित खोप मात्रै पठाएकाले तोकिएकाबाहेक कसैलाई पनि खोप लगाउन नसकिने बताए । अतिरिक्त खोप नभएकाले अन्यलाई लगाउन सक्ने सम्भावना नरहेको उनको भनाइ छ । यसअघि खोप लगाउँदा लक्षित समूहकाले खोप लगाउन अस्वीकार गरेको ठाउँमा अन्यले लगाएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।
चीन सरकारको अनुदानमा प्राप्त भेरोसिल नामक खोप जो जहाँ छ त्यहीँ लगाउने गरी दिइन थालिएको हो । हरेक वडामै खोपको व्यवस्था गरिएको छ । कतिपय वडाहरू जोडेर खोप केन्द्र तोकिएको छ । भरतपुर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दीपक सुवेदी सबैतिरबाट खोप लगाइदिन दबाव आएको बताए । उनले भने, “चिनेका र अत्यावश्यकबाहेक कसैको पनि फोन उठाउन सकेको छैन ।”
आआफ्नो वडाको खोप केन्द्रमा नै गएर खोप लगाउनसमेत उनले आग्रह गरेका छन । “एउटा वडाको व्यक्ति अर्को वडामा जाँदा खोप व्यवस्थापनमा समस्या पर्छ ।” उनले भने । नेपाल सरकारले जारी गरेका नागरिकता, ज्येष्ठ नागरिक परिचयपत्र, लाइसेन्स जस्ता कुनै पनि परिचयपत्रका आधारमा खोप लगाइने बताए । कुनै पनि परिचयपत्र नभएकाका लागि भने सम्बन्धित वडाको सिफारिसमा खोप लगाउने व्यवस्था गरिएको छ ।
यस्तै भेरोसिलको पहिलो डोज लगाएर दोस्रो डोज नलगाएकाहरूले पहिलो खोप लगाएको कार्ड लिएर आएमा भने दोस्रो डोज खोप लगाइने व्यवस्था गरिएको छ । यसअघि काठमाडौँसहित केही जिल्लामा भेरोसिलको पहिलो डोज लगाइएको थियो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अन्य जोखिममा रहेका समूहका लागि खोपको माग गरेर पत्राचार गरिएको भन्दै अहिले लक्षित समूहबाहेक अन्यलाई खोप लगाउन नसकिने बताए । उनले खोप आए लगत्तै लक्षित र जोखिममा परेकाहरूलाई क्रमशः खोप लगाइने भएकाले यस अभियानमा सहयोग गरिदिन गरे । प्रत्येक खोप केन्द्रमा नेपाल प्रहरीले सुरक्षा दिने छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।
कोरोना कहरका कारण भिडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको हो । खोप केन्द्रमा छुटपुट भएकालाई जेठ २७ गते एउटा पालिकामा एक ठाउँमा खोप दिने व्यवस्था रहेको छ ।जिल्लामा यसअघि दुई चरणको खोप अभियान सम्पन्न भएको छ । ती अभियानमा ३९ हजार जनताले पहिलो खोप लगाएका छन् ।