रुकुम पश्चिम : रुकुम पश्चिममा कोभिड संक्रमित भएर आइसोलेशन भर्ना भएका विरामीका लागि अर्गानिक धुलो ‘सिस्नो पाउडर’ निःशुल्क रुपमा उपलब्ध गराइएको छ । सिस्नोको पाउडर उत्पादन गरिरहेको हिमालय सिस्नो पाउडर उद्योगले जिल्ला अस्पताल सल्लेको आइसोलेशन अस्पतालमा भर्ना भएका संक्रमितलाई खुवाउनको लागि सिस्नोको धुलो उपलब्ध गराइएको हो ।
नेकपा (विप्लव समुह) ले कोभिड संक्रमित र उनीहरुका कुुरुवाहरुको लागि निःशुल्क खाना खुवाउने कार्य कार्य गरिरहेको छ । विप्लवले सोमवार हिमालय सिस्नो पाउडर उद्योगबाट पहिलो पटक ६ किलोग्राम प्याकेजिङ गरिएको सिस्नोको पाउडर लिएको संचालक सुन्दर शर्माले जानकारी दिए । निःशुल्क खाना खुवाउने अभियानमा रहेको टिमलाई उक्त अभियानको अवधिभर बिरामीहरुको इच्छा, माग र आवश्यकता अनुसार सिस्नोेको धुलो उपलब्ध गराईने शर्माले भने ।
आइसोलेशनमा भर्ना संक्रमितलाई नेकपा विप्लव समूहका युवाद्धारा खाना खुवाउँदै - तस्विर : कर्णालीखबर संवाददाता/रुकुम पश्चिम
स्वास्थ्यको हिसाबले फाइदाजनक मानिने सिस्नो सेवनले मधुमेह, मुटुरोग, क्यान्सर जस्ता दीर्घरोगविरुद्ध लड्ने क्षमताको विकास गर्ने, उच्च रक्तचाप नियन्त्रण गर्ने, प्रशस्त मात्रामा भिटामिन, खनिज पदार्थ पाईने गर्दछ । स्वस्थकर र स्वादिष्ट मानिने सिस्नो पाउडर प्राकृतिक हिसावले समेत शुद्ध मानिन्छ । ‘पाउडरको रुपमा उत्पादन गरिएको सिस्नो खानाको विभिन्न परिकारसंग र नियमित चियाको रुपमा समेत उपभोग गर्न सकिन्छ ।
उद्योगका सञ्चालन शर्माले भने, ‘रोग प्रतिरोध क्षमता विकासमा महत्वपूर्ण हुने भएकोले संक्रमितलाई हित हुने र निःशुल्क खाना खुवाउने अभियानमा ऐक्यबद्धता जनाउन सिस्नोको धुलो उपलब्ध गराईएको हो ।’
नेकपा बिप्लव समुहले अस्पताल नजिकैको स्थानीय सरस्वती माध्यमिक बिद्यालयमा मेस सञ्चालन गरेर त्यहिबाट खाना, नास्ता प्याक गरेर निशुल्क रुपमा खुवाउदै आएको छ । नेकपा बिप्लव समुहका जिल्ला कार्यालय सदस्य नरेन्द्र बिकको नेतृत्वमा रहेको एक समुहले अस्पतालमा बिरामीहरुको लागि सिलिण्डरहरु पु¥याउने लगायत स्वास्थ्यकर्मीको टोलीलाई सहयोग गर्ने, केहिले शव व्यवस्थापनमा सहयोग गर्ने, केहिले बिरामीहरुको लागि खाना खुवाउने कार्यमा सहयोग गरिरहेको छ ।