१२ जेठ, रुकुम पश्चिम : मुसीकोट नगरपालिका–९ का अध्यक्ष नवीन ओली वैशाखयता तीनपटक हरेक वडावासीको घरमा पुगे । पहिलो चरणमा कोरोना महामारीबाट बच्ने उपाय सिकाए । दोस्रो चरणमा साबुन र मास्क वितरण गर्न र तेस्रो चरणमा स्वास्थ्यकर्मीसित वडावासीको स्वास्थ्य चेकजाँच, उपचार तथा परामर्शसहित निःशुल्क औषधि वितरणमा खटिए ।
यस्तै बाँफीकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी एन्टिजेन परीक्षण गर्ने स्वास्थ्यकर्मीकै पछि लागेर हरेक वडा पुग्छन् । संक्रमितलाई मनोबल बढाउन हौसला दिन्छन् र संक्रमण नभएकालाई थप सुरक्षित व्यवहार अपनाउन अनुरोध गर्छन् ।
उनीहरू मात्र होइन, जिल्लाका अधिकांश जनप्रतिनिधि कोरोना रोकथाम, नियन्त्रण र सचेतना जगाउन घरदैलोमा व्यस्त छन् । ‘कोरोना संक्रमण बढ्दै गइरहेको छ, यसको रोकथाम, नियन्त्रण र उपचारमा समग्र व्यवस्थापन पुगेको छैन,’ गाउँपालिका अध्यक्ष केसीले भने, ‘यस्तो अवस्थामा आफैं पनि उपस्थित भएर स्थानीय सरकार र जनप्रतिनिधिको प्रत्याभूति दिलाउन प्रयास गरिएको छ ।’ केही ठाउँमा स्रोतसाधन पुर्याउन पनि आफैं जुटेको उनले बताए । कोरोनाबाट कसरी बच्ने, सुरक्षित व्यवहार कसरी अपनाउने र भइहाले पनि के गर्ने भनेर सम्झाउनका लागि घरदैलो गरिरहेको वडाध्यक्ष ओलीले बताए ।
सानीभेरी गाउँपालिका–३ का अध्यक्ष बिर्खबहादुर विष्ट पनि दुई सातामा झन्डै ५० संक्रमितको घरमा पुगेका छन् । आनो वडा मात्रै होइन गाउँपालिकाका अरू वडाका घरमा बसेका संक्रमितकहाँ पनि उनी पुगे । संक्रमितको अवस्था कस्तो छ भनेर जान्ने, संक्रमितको अक्सिजनको मात्रा नाप्ने तथा लक्षण अनुसारका औषधि वितरणका लागि स्वास्थ्यकर्मी लिएर घरदैलो गरेको उनले बताए ।
महामारी र असजिलोका बेला जनप्रतिनिधिले जनतामा अभिभावकको भूमिका निर्वाह गरिरहेको बाँफीकोट गाउँपालिका–५ का रामप्रसाद केसीले बताए । उनका अनुसार जनप्रतिनिधिले कोरोना महामारीका बेला जनतासितै बसेर राम्रो सन्देश दिएका छन् । ‘संक्रमण गाउँगाउँमा फैलिएको छ,’ उनले भने, ‘जनप्रतिनिधिको घरदैलोले संक्रमितलाई कोरोना जित्ने आँट दिएको छ, हामीले कोरोनाबाट बच्ने उपाय सिकेका छौं ।’ भएको स्रोत र जनशक्ति जुटाएर घरदैलो अभियान जारी राखेको अध्यक्ष केसीले बताए ।
'हरि गौतमले तयार पारेको यो सामग्री हामीले कान्तिपुरबाट लिएका हौं'