सुर्खेत : नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुक अहिले आक्रान्त छ । कोरोना सङ्क्रमणका कारण वैशाखयता मान्छे नमरेको कुनै दिन छैन । यसबाट हरेक दिन देशका १०० भन्दा बढीले ज्यान गुमाउँदै आएका छन् ।
कोभिड महामारीको बढ्दो जोखिमबाट र्सििजत सन्त्रासपूर्ण अवस्थामा कोरोना रोगभन्दा त्यसको त्रासदीले धेरै नेपाली प्रभावित छन् । यो अवधिमा यसको भय र चिन्ताका कारण कमजोर बन्दै गएको नागरिकहरुको त्यही मनोविज्ञानलाई बलियो बनाउन राष्ट्रव्यापी मनोपरामर्शसम्बन्धी प्रवचन भइरहेको छ ।
कोरोना महामारीबाट उत्पन्न सङ्कटको बीचमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय कार्यसमितिले ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ विषयक ‘तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन’ भर्चुअल कार्यक्रम यही जेठ ८ देखि १० गतेसम्म हुने गरी सञ्चालन गरेको छ । कार्यक्रमको दोस्रो सत्रमा मनोविद् बिजयवाबु सिग्देले कोरोना माथिको विजय हासिलका लागि आफ्नो प्रवृत्ति, सोच र जीवनशैली परिवर्तन गर्न जोड दिए ।
कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै मनोविद सिग्देलले भने, “हामीले यो अवधिमा दिमागी व्यवस्थापन गर्न आवश्यक छ । जीवनलाई स्वस्थ, शान्त र फुर्तिलो बनाउन हरेक व्यक्तिले सकारात्मक सोच, शुद्ध खाना, सरल जीवनशैली र निरन्तर योगाभ्यास गरौं । यसका लागि हामीले दृढ अठोट राख्दै व्यक्तिगत तथा पारिवारिक जीवनलाई सुसङ्गठित बनाउँदै लैजानु पर्दछ ।”
भर्चुअल प्रवचन कार्यक्रममा डा सरल शर्माले नेपालमा हाल फैलिएको नयाँ भेरियन्टसहितको कोरोना र यसले पारेको प्रभावका विषयमा आफ्नो प्रस्तुति दिए । मुख्यतयाः सबैले आफ्नो मनोबललाई उच्च राख्नुपर्ने र सङ्क्रमण देखिएमा चिकित्सकको सम्पर्कमा रहिरहन सुझाउँदै अनावश्यकरुपमा बाहिर ननिस्कन र सुरक्षित साथ घरभित्रै बस्न अनुरोध गरे ।
खासगरी कोरोनाले प्रभावित मुलुकभरिका नागरिकमा कोभिडसम्बन्धी उत्पे्ररक सुझाव र सन्देश दिने उद्देश्यले आयोजित भर्चुअल प्रवचन कार्यक्रममा ६०७ जनाको सहभागिता रहेको सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीका अनुसार आजको अत्यन्तै महत्वपूर्ण भाग रहेको छ । यसमा उत्प्रेरक राजन सिंखडाले कोभिड–१९ र मनोपरामर्श, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाचन्द्रमणि पौडेलले एसइई, कक्षा ११ र १२ को परीक्षा तथा मूल्याङ्कन र सङ्गठनका उपाध्यक्ष इन्दराज भट्टराईले व्यक्तिको स्वपहिचान र सामाजिक जीवनसम्बन्धी प्रवचन दिनेछन् ।