सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिए ।
नेकपा (एमाले)को समर्थनमा आज अपरान्ह ५ः०० बजे शाहीले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए।
काउचाका अनुसार मुख्यमन्त्री शाहीको बुधबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच यही साउन ९ गते सत्ता समीकरणका लागि राष्ट्रिय सहमति भएको थियो ।
४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १०, राप्रपा र अन्य १/१ जना सदस्य छन् ।
शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए ।
शाहीले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री भएर काम गरिसकेका छन् ।