काठमाडौं। ओमानविरुद्व आठ विकेटको सहज जित निकाल्दै नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनल प्रवेश गरेको छ ।
आइतबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा ओमानले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले ९.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लोकश बमले अविजित ४४ रनको इनिङ खेले । उनले २६ बलमा सात चौका र एक छक्का प्रहार गरे । रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले २० रन बनाए । तेस्रो विकेटका निम्ति लोकेश र रोहितले अविजित ६८ रनको साझेदारी गरे ।
ओमानका निम्ति दुवै विकेट समीर ओटमनले लिए ।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो ।
ओमानका कप्तान सफ्यान मेहमुदले ३८, जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन बनाए ।
नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुई/दुई, शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीका नाममा एक/एक विकेट रह्यो ।
नेपालले अब उपाधिका निम्ति हङकङ र मलेसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।