कैलाली। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा १२ दिने जलयात्रा महोत्सव आजदेखि सुरु भएको छ।
प्रदेश पर्यटन कार्यक्रम कार्यन्वन इकाइ धनगढीका अनुसार डोटीको दिपायलस्थित सेती नदीबाट सुरु भएको उक्त जलयात्रा सेती नदी हुँदै कर्णाली नदीको चिसापानीसम्म हुनेछ।
महोत्सवले जलयात्रा गर्न सुदूरपश्चिम आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्रा (र्याफ्टिङ) का लागि अनुकूल वातावरण, सम्भाव्यता अध्ययनसँगै जलयात्रामा रमाउने पर्यटक भित्र्याउन भूमिका खेल्ने सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइ प्रमुख डबलबहादुर बोहराले बताए।
जलयात्रा महोत्सव कार्यक्रममा विभिन्न देशका पर्यटक गरी २५ जना सहभागी रहेका उहाँले जानकारी दिनुभयो । जलयात्रा गर्ने टोलीसँग २५ नेपाली जलयात्रा (र्याफ्टिङ) गाइड र चालक सहभागी रहेको बोहराले बताए।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले पर्यटन पुनः उत्थानका लागि सहयोग, साहसिक जलयात्रा सुरक्षित भएको सन्देश प्रवाह गर्नु, आन्तरिक तथा बाह्य जलयात्रीलाई जलयात्रातर्फ आकर्षित गरी रोजगार सिर्जना गर्नु उत्सवको मुख्य उद्देश्य रहेको बताए। उनले जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवर्द्धन गर्न उत्सव सार्थक बन्ने विश्वास व्यक्त गरे।
प्रदेश सरकारले आयोजना गरेको जलयात्राले यस क्षेत्रमा रहेको सम्भाव्यताको उजागरसँगै मुलुकको अर्थतन्त्र र रोजगारी वृद्धि गर्न मद्दत मिल्ने अपेक्षा गरिएको उनले बताए। प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन एकाइको रु सात लाख ५० हजारको लागतमा डोटीको बोगटान फुड्सिल गाउँपालिका, कैलालीको मोहन्याल गाउँपालिका, सुर्खेतको पञ्चपुरी नगरपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका बर्दियाको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा उक्त महोत्सव आयोजना गरिएको हो।