काठमाडौं । बसिर अहमदको शतकमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
यो जितसँगै आर्मीले प्रतियोगितामा पहिलो दुई अंक जोडेको छ । आइतबार काठमाडौंको मूलपानी रंगशालामा आर्मीले प्रस्तुत गरेको २४४ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लब ४५.३ ओभरमा सबै विकेट गुमाएर २२१ रनमा समेटियो ।
पुलिसलाई रोक्न नरेन साउदले तीन विकेट लिए । १० ओभर बलिङ गरेका साउदले ५७ रन खर्चिए । उनको इकोनोमी ५.७० रह्यो । आकास चन्दले दुई विकेट लिए । कुशल मल्ल, साहम आलम, बसिर अहमद र पवन कार्कीले समान एक विकेट लिए ।
पुलिसका राशिद खानले सर्वाधिक ६० रन बनाए । राशिदले ८२ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । ओपनर शंखर रानाले ४६ रन जोडे । कप्तान आरिफ शेखले ३८, करन केसीले २३, सरवण यादवले १३ र गुल्सन झाले १० रन जोडे ।
त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङमा आएको आर्मीले ४७ ओभरमा आठ विकेट गुमाएर २४३ रन जोडेको थियो ।
आर्मीका बसिर अहमदले १०० रनको शतकीय इनिङ खेले । ८६ बलमा उनले आठ चौका र दुई छक्का प्रहार गरे । उनले पाँचौँ विकेटको निम्ति भिम शार्कीसँग ८२ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका भिम शार्कीले ६२ रन बनाए । भिमले ६५ बलमा ६ चौका र दुई छक्का प्रहार गरे ।
नरेन साउदले २१ रन जोडे । ओपनर तृतराज दासले १३ रन जोड्दा अर्का ओपनर इम्रान शेख र अर्जुन साउदले समान १० रन जोडेका थिए ।
पुलिसका सरवण यादवले तीन विकेट लिए । ६ ओभर बलिङ गरेका सरवणले २४ रन खर्चिए । उनको इकोनोमी ४.०० रह्यो । सागर ढकाल र राशिद खानले समान दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट लिए ।
पराजित पुलिसले भने हारसहित प्रतियोगिताको सुरुआत गरेको छ ।