सुर्खेत। शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हने कर्णाली प्रदेशको टोलीलाई बिहिबार विदाई गरिएको छ ।
आगामी चैत ७ गतेदेखि सुरु हुँदैछ। कर्णाली प्रदेश क्रिकेट संघले औपचारिक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई विदाई गरेको हो ।
संघका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले कर्णालीको नाम जितसँग जोड्न खेलाडीहरुलाई आग्रह गरे । उनले अनुशासन, आत्मविश्वास र टिमवर्क नै जितको आधार भएकाले पालना गर्न आग्रह गरे ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले कर्णालीको नाम स्वर्ण अक्षरमा लेखाउने प्रतिबद्धता व्यक्त गरेका छन्। टोलीका कप्तान दिवान पुनले यसपटक कर्णालीले राष्ट्रिय प्रतियोगितामा सम्मानजनक स्थान हासिल गर्ने विश्वास व्यक्त गरे । प्रतियोगिता नजिकिँदै गर्दा कर्णालीको टोली उत्साह र आत्मविश्वासका साथ तयारीमा जुटेको उनले बताए ।
देशकै प्रतिष्ठित यो प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोलीको सहभागिता रहनेछ । खेलहरु काठमाडौं, जनकपुर र पर्सामा सञ्चालन हुनेछन्।
दिवान पुनको कप्तानीमा रहेको कर्णालीको टिममा अर्जुन घर्ती, दिनेश अधिकारी, रविन्द्र जंग शाही, विपिन शर्मा, विपिन रावल, दिपेन्द्र रावत, युनिसविक्रम सिंह ठकुरी, सुनिल धमला, प्रकाश जैशी, रविन्द घर्ती, राजप्रसाद शाह, विपिन विक्रम शाही, लक्ष्मण बम, निश्चल रावल र अनुजकुमार चनारा समावेश भएका छन् । टोलीमा कोचका रुपमा विरेन्द्र शाह रहेका छन् भने सहायक कोचमा रोशन शाही छन् । टोलीको व्यवस्थापकका रुपमा रमेश शाही सहभागी छन् ।
कर्णालीको टोलीले जनकपुरमा कोशी, मधेश, एपीएफसँग खेल्नेछन् । यस्तै पर्सामा लुम्बिनी, सुदूरपश्चिम, आर्मी, नेपाल पुलिस र गण्डकीसँग खेल्ने छ ।