काठमाडौँ। आइसिसि टी २० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा समूह सी मा रहेको वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले हराएर महत्वपूर्ण २ अंक जोडेको छ ।
कोलकाताको इडेन गार्डेनमा भएको यस खेलमा स्कटल्यान्डले टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो ।
शाई होपको कप्तानीमा उत्रेको वेस्ट इन्डिजका लागि आक्रामक ब्याट्सम्यान शिभरन हेटमायरले ६ छक्का, २ चौकाको मद्दतले ३६ बलमा ६४ रन बनाएका थिए । उनी म्यान अफ म्याच पनि घोषित भएका थिए ।
यसैगरी, ब्रान्डोन किङले ३५, शाई होपले १९, रोभमन पावेलले २४ र शेरफन रदरफोर्डले २६ रन बनाएका थिए ।
जितका लागि १८३ रनको लक्ष पछ्याएको स्कटल्यान्डले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन मात्र बनाएको थियो । टिमका लागि कप्तान रिची बेरिङटनले ४२ र टम ब्रुसले ३५ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तैमा आउट भएका थिए ।
वेस्ट इन्डिजका लागि रोमारिओ शेफर्डले ५ तथा जेसन होल्डरले ३ विकेट लिएका थिए ।
समूह सी मा नेपाल सहित वेस्ट इन्डिज, इङल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् ।
नेपालले भोलि आइतबार इङल्यान्डको सामना गर्नेछ । मुम्बईको वान्खडे रंगशालामा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ३ बजेर १५ मिनेटमा सुरु हुनेछ ।