सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घ सुर्खेतले चासो देखाएको छ ।
दैनिक अव्यवस्थित तथा प्रदेश राजधानीको सौन्दर्यमा नै असर पर्ने गरेर भइरहेको गतिविधिका विषयमा चासो दिँदै वाणिज्य सङ्घ सुर्खेतले सरोकारवालासँग छलफलसमेत गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकाल, जिल्ला प्रशासन कार्यालय सुर्खेत तथा मुख्यमन्त्री यामलाल कँडेललाई भेटेर प्रदेश राजधानीलाई व्यवस्थित बनाउन आग्रह गरेको सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले जानकारी दिनुभयो । नगरपालिकाले बनाएको कार्यविधिअनुसार नै अगाडि बढ्ने कुरामा छलफल भएकोसमेत उहाँले बताउनुभयो ।
सङ्घले पछिल्लो समय बजार क्षेत्रमा व्यवसायको नाममा भइरहेको फुटपाथ अतिक्रमण तथा अव्यवस्थित व्यवसाय सञ्चालनप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्ता गतिविधिका कारण बजार क्षेत्रको सुन्दरता, शान्ति सुरक्षा र समग्र व्यवस्थापनमा नकारात्मक प्रभाव परेको सङ्घको ठहर छ ।
अध्यक्ष खड्काका अनुसार अव्यवस्थित रूपमा सञ्चालन भएका व्यवसाय र फुटपाथ अतिक्रमणले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सौन्दर्यमा असर पुर्याउनुका साथै पैदलयात्रु, उपभोक्ता तथा कानुनअनुसार व्यवस्थित रूपमा व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई समेत असहज बनाएको छ ।
प्रशासन, पालिका तथा मुख्यमन्त्री कार्यालयमा गराएको ध्यानाकर्षणमा सङ्घले बजार व्यवस्थापनलाई व्यवस्थित बनाउँदै शान्ति–सुरक्षा सुदृढ गर्न आवश्यक कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।
सङ्घले दीर्घकालीन समाधानका लागि स्थानीय तह, प्रशासन र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै व्यवसाय प्रवद्र्धनसँगै बजारको सुन्दरता कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ । प्रदेश राजधानीलाई सुन्दर बनाउनका लागि सबैले मिलेर काम गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।
अध्यक्ष खड्काले नगरपालिकालाई बुझाएको पत्रमा भनिएको छ, “प्रदेशको राजधानी वीरेन्द्रनगरमा हालै जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको आक्रमण तथा पछिल्लो समयमा बजार क्षेत्रमा व्यवसायीका नाममा फुटपाथ अतिक्रमण गर्ने र म्याद गुजिएका वस्तुहरूको अव्यवस्थित व्यापार सज्वालन गर्ने क्रम दिनानुदिन बढ्दै गएकाप्रति निजी क्षेत्र गम्भीर चिन्तित रहेको छ । यसले बजार क्षेत्रको सुन्दरता नष्ट हुनुका साथै पैदलयात्रु, उपभोक्ता र व्यवस्थित व्यवसायीहरूलाई असुविधा पु¥याइरहेको छ ।”
त्यस्तै बजार क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन कायम नभएमा व्यवसायीहरूले निर्धक्क व्यापार गर्न नसक्ने अवस्था सिर्जना भएकोसमेत बताएको छ । राजधानीको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारिरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । निजी क्षेत्र नगरको आर्थिक विकासको मुख्य साझेदार भएकाले बजारको सरसफाइ, सुन्दरता र व्यवस्थित व्यवस्थापनका लागि सबै सहकार्य गर्न तयार रहेको सङ्घले जनाएको छ ।
फुटपाथ व्यवसायीलाई करको दायरामा ल्याउने, बजार क्षेत्रको व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने र नगरलाई सफा, सुन्दर र समृद्ध बनाउन निम्न सुभावहरू नगरपालिकालाई दिइएको छ । फुटपाथ अतिक्रमण नियन्त्रण गरी व्यवस्थित व्यापारिक वातावरण सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । बजारको सरसफाइ र सुन्दरता कायम राख्न निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने माग गरिएको छ ।
फुटपाथ व्यवसायीलाई करको दायरामा ल्याएर नगरको आर्थिक विकासमा योगदान सुनी उचित गर्नुपर्नेमा जोड दिइएको छ । दिगो योजना तथा अभियानमार्फत नगरलाई सफा, सुन्दर र समृद्ध बनाउन पहल गर्नुपर्ने माग राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुझाएको पत्रमा प्रदेशको राजधानी वीरेन्द्रनगरमा जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको आक्रमण तथा पछिल्लो समयमा बजार क्षेत्रमा व्यवसायीका नाममा फुटपाथ अतिक्रमण गर्ने तथा अव्यवस्थित व्यवसाय सञ्चालनबाट बजार क्षेत्रको सुन्दरता र सुरक्षालाई समेत पारेको प्रभावप्रति निजी क्षेत्र गम्भीर चिन्तित भएको उल्लेख गरिएको छ । रासस