काठमाडौं । गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमै थिइन्। माइतीघरबाट सुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको घानमा आफू परिएला भन्ने उनलाई के थाहा ? तर भइदियो त्यस्तै ।
सप्तरीकी ४८ वर्षीया साहको पसल कोटेश्वर प्रहरी चौकी छेउमै छ । एउटा ठूलो भिड कोटेश्वरतिर आइसकेपछि उनी हेर्नका लागि बाहिर निस्किएकी थिइन् । हेर्दा हेर्दै प्रदर्शन चर्किँदै गयो । कताकताबाट आएको पेट्रोलसहितको आगो उनको शरीरमा सल्कियो । उनलाई उद्धार गरेर कान्तिपुर अस्पताल पुर्याइयो । त्यहाँ पनि आन्दोलनकारीको भिड भएकाले सिनामङ्गल स्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) लगियो ।
अहिले पनि उनी केएमसीको प्लाष्टिक सर्जरी पोष्ट अपरेटिभ वार्डको बेड नं २४४ मा उपचाररत छन् । उनका शरीरको १८ प्रतिशत भाग जलेको छ । कम्मरमुनि र दायाँ हातमा बढी असर छ ।
अस्पतालको शय्यामा सुति रहनुपर्दा उहाँमा पीडा थपिएको छ । घाउ चहर्याउँदा उहाँ घरीघरी चिच्याउँछन् । सबैभन्दा नरमाइलो त उनलाई दशैँमा भएको थियो । अस्पतालको बेडमै रहँदा दशैँको रौनक आयो, गयो । तिहारअघि त डिस्चार्ज हुन्छु कि भन्ने थियो । तर उहाँलाई चिकित्सकले निगरानीमै राखेको छ ।
‘बाहिर तिहारको झिलिमिली, रङ्गीचङ्गी छ । सबैमा उत्साह र रौनक छ, मैले भने दशैँतिहार नै अस्पतालको शय्यामा बिताउन बाध्य भएँ,’ उनी भन्छिन् ।
यस्तो बेला उनलाई विगतका दशैँ र तिहारको झझल्को नआउने होइन । हरेक वर्ष उनि तिहारमा घर–पसल सजाउँथे । तिहारले बेग्लै खुसियाली दिन्थ्यो । यसपालि भने उनको घर सजिएन । ‘मनमा उत्साह नै नभएपछि घर सजाउनुको के अर्थ भयो र,’ उनि निराश हुँदै भन्छन् ।, ‘डेढ महिना पुग्न लागिसक्यो । अस्पतालको बेडमै बस्दा बस्दा म थाकिसकेकी छु ।’
उनि अस्पतालमा भएपछि पसल छोरा राहुलले रेखदेख गर्दै आएका छन् । ‘छोरा विदेश जाने तयारीमा थियो । म नै अस्पताल भर्ना भएपछि अब उसको के हुने हो टुङ्गो छैन,’ उनले सुनाए ।
केएमसीकै हाई केयर युनिटमा हुनुहुन्छ, काभ्रेका २७ वर्षीय कमल घिमिरे । उहाँका आमाबुबा भक्तपुरको राधेराधेमा गाई फार्म चलाउँदै हुनुहुन्छ । घिमिरेले पनि आमाबुबालाई सघाउँदै आइका थिए ।
दूध पुर्याउन सधैँझैँ भदौ २३ गते पनि उहाँ बानेश्वर आउनुभएको थियो । घर फर्किने बेलासम्म काठमाडौँको अवस्था असामान्य बनिसकेको थियो । बानेश्वर क्षेत्र तनावग्रस्त थियो । पानीको फोहरा, अश्रुग्यास मात्र होइन गोलीसमेत चल्न थालिसकेको थियो । उनि यो माहोल हेर्न बानेश्वरमा एकछिन के रोकिएका थिए ।, गोली उनको छातीमा लाग्यो ।
काका प्राण नाथ घिमिरेका अनुसार गोलीले फोक्सोमा ठूलो असर पुर्याएको छ । केही समय त कमलको बोली नै ननिस्किने भएको थियो अहिले भने बोल्न सक्छन् । ‘सरकारले स्वास्थ्य उपचार निःशुल्क गरे पनि औषधी र खानाको पैसा तिर्नुपरेको र त्यो महँगो भएकाले हामीलाई निकै गाह्रो परिसक्यो,’ कुरुवा बस्दै आएका काका प्राणनाथले भने, ‘छातीको दायाँ भागमा ठूलो घाउ छ । डाक्टरले पुरिन निकै समय लाग्छ भनेका छन् ।’
गोली लागेपछिका कठिन समय र शारीरिक पीडा त छँदै छ, तर यही बीच आइ परेका महत्त्वपूर्ण चाड कमलले खूब ‘मिस’ गरेका छन् । ‘अस्ति दशैँमा त मैले नै जसोतसो टीका लगाइदिएँ,’ काका प्राण नाथ भन्छन्, ‘यो तिहार भने उसको खल्लो होलाजस्तो छ । अस्पतालमा भाइटीका गर्न सजिलो छैन ।’ कमलका एक जना बहिनी छन् ।
पटक–पटक शल्यक्रिया गर्नुपर्ने भएकाले कहिले निको हुने टुङ्गो नभएको दिक्दारी कमलका काकाले पोखे । ‘यत्रा चाडबाड आए, म पनि अस्पतालमै बस्नुपर्ने बाध्यता आइ लाग्यो । तिहारमै पनि अस्पतालकै बास भयो,’ उनले भने, ‘डाक्टरले छोरो निको भयो, अब घर जानु भनेका दिन कति खुसी लाग्ने थियो ।’ चाडबाडका बीच अस्पतालको बेडमै रहनुपर्दा घाइतेलाई घरपरिवार आफन्तको यादले बढी सताएको छ ।
जेनजी आन्दोलनका घाइतेहरू काठमाडौँका अरु अस्पतालमा पनि छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा ३ जना, बि एन्ड बि अस्पतालमा १ जना र नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा १ जना गरी देशभर ११ जना घाइते उपचाररत छन् । आन्दोलनमा घाइते भइ उपचारका लागि २ हजार ५ सय ७१ अस्पताल पुगेका थिए ।
रासस बुनु थारु