कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मर्यादित पत्रकारिताबाट मात्र सभ्य समाज निर्माण हुने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘सुर्खेतको पत्रकारिताको इतिहास नामक पुस्तकको बिमोचन, सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उहाँले सुसंस्कृत र समुन्नत समाज निर्माणमा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताए।
द्वन्द्वका समयमा पत्रकारले समाजलाई अतुलनीय योगदान दिएको उल्लेख गर्दै उहाँले अहिलेका पत्रकारले अशान्तिभित्र शान्ति र विकासमा सघाउने पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कँडेलले भन्नुभयो, “पेसागत मर्यादालाई केन्द्रमा राखेर काम गर्नुहोस् । सरकार र राज्यको असल पहरेदार बनेर काम गर्दा त्यसले पेसालाई बलियो, विश्वसनीय र सुदृढ बनाउँछ ।” उनले संविधान र सङ्घीय व्यवस्थाविरुद्ध भएका गतिविधि र व्यवस्थाको संस्थागत विकासमा सहयोग पुग्नेगरी त्यसतर्फ कलम चलाउन आग्रह गरे।
राससकर्मी आचार्य र केसीसहित सात पत्रकार पुरस्कृत
राष्टिय समाचार समिति (रासस) कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा कार्यरत स्थानीय समाचारदाता सुरेश आचार्य र टेकराज केसी पुरस्कृत भएका छन् ।
आचार्य स्वर्गीय नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कार र केसी युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। त्यस्तै, कर्मसञ्चारकर्मी ईश्वरराज अधिकारी वर्ष पत्रकारिता, कान्तिपुरकर्मी तृप्ति शाही क्रियाशील पत्रकारिता, हिमालय टेलिभिजनकर्मी रमेश पाण्डे र रेडियोकर्मी करिश्मा चौधरी विकास तथा शान्ति पत्रकारिता र बाह्रखरीकर्मी विवशकुमार सेजुवाल खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्काबाट पुरस्कृत हुनुभएको छ ।
पुरस्कृत सातै पत्रकारलाई मुख्यमन्त्री कँडेलले जनही रु पाँच–पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै, नेपाल पत्रकार महासङ्घ सुर्खेतका पूर्वअध्यक्ष दुर्गा थापा, पूर्वउपाध्यक्ष माया थापा र रेडियोकर्मी डम्बरकुमारी आचार्यलाई जनही रु १०–१० हजार नगदसहित प्रेस स्वतन्त्रताबाट सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा २०२७ सालमा प्रकाशित जुनकिरी पत्रिकाका सम्पादक जनकराज शर्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै, डेढ÷डेढ वर्ष पदावधि लिने सहमतिअनुसार महासङ्घ अध्यक्ष सुशीलराज शर्मालाई बिदाइ गर्दै मधुवन बिसीले अध्यक्षको पदभार ग्रहण गरेका छन् ।
सहसचिव नवीन सुवेदीलाई बिदाइ गर्दै गीता थापा र सदस्य अमर कार्कीलाई बिदाइ गर्दै मानबहादुर खड्काले पदीय जिम्मेवारी वहन गरेका छन् ।