सुर्खेत। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा १४१ वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार, यी पुलहरूले विकट र दुर्गम क्षेत्रका जनतालाई दैनिक जीवन सहज बनाउने अपेक्षा गरिएको छ।
मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले भने, रुकुम पश्चिममा १०, सल्यानमा ७, डोल्पामा १९, जुम्लामा १२, मुगुमा २०, हुम्लामा १८, कालिकोटमा १३, जाजरकोटमा ७, दैलेखमा २१ र सुर्खेतमा १४ पुल निर्माण हुनेछन्।
प्रदेश सरकारले दुर्गम बस्तीमा आधा घण्टाभित्र सेवा पुग्ने लक्ष्य राखेको छ। यसका लागि केन्द्र र स्थानीय तहसँग सहकार्य गरी पुल निर्माण अघि बढाइनेछ।
साथै, झोलुङ्गे पुल निर्माणमार्फत तुइन विस्थापनको योजना पनि अगाडि बढाइएको छ। यसका लागि ७५ वटा नयाँ पुल निर्माण र पुराना पुल मर्मतका लागि ३७ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
कर्णालीको विकट भूगोलका कारण झोलुङ्गे पुलहरू ग्रामीण जीवनको आधार मानिन्छन्। यी पुलहरूले स्वास्थ्य, शिक्षा, बजार पहुँच र स्थानीय अर्थतन्त्र सुदृढ पार्ने विश्वास गरिएको छ।
प्रदेश सरकारले यससँगै ४४३ सडक र ९५ मोटरेबल पुल निर्माणको योजना पनि अघि सारेको छ।