सुर्खेत। दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सुरक्षा योजना लागू गरेको छ। यस योजनाअन्तर्गत जिल्लाभर ८५० जना प्रहरी फरक–फरक जिम्मेवारीमा परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहनजंग बुढ्थापाका अनुसार, योजना मुख्यत: चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि, झगडा, चोरी, लुटपाट र सवारी दुर्घटना न्यूनीकरण गरी नागरिकलाई सुरक्षित बनाउनको लागि तयार गरिएको हो।
योजनाअनुसार कमाण्ड पोस्ट र जिल्ला रिजर्भमा २७ जना, मोबाइल गस्तीमा ५० जना, मोटरसाइकल गस्ती र आकस्मिक कारबाहीका लागि ६४ जना प्रहरी खटाइएका छन्। यसबाहेक, २८३ जना पिकेट ड्युटी, ७१ जना चेकिङ, ११ जना सादा पोसाकमा, २७ जना यात्रु सहायता कक्षमा र १४४ जना महत्त्वपूर्ण प्रतिष्ठान तथा बैंकमा परिचालन हुने डीएसपी बुढ्थापाले बताए।
बजार अनुगमन र आकस्मिक कार्यक्रम व्यवस्थापनका लागि ५५ जना र कार्यालय सुरक्षाका लागि ११६ जना प्रहरी परिचालन गरिएको छ। डीएसपी बुढ्थापाले कालोबजारी नियन्त्रण र म्याद गुज्रेका सामानको बिक्री वितरण रोक्न बजार अनुगमन टोली खटाइएको समेत जानकारी दिए।