सुर्खेत। जेनजी आन्दोलनले हिंसात्मक रूप लिँदा वीरेन्द्रनगर–७, इत्रामस्थित कर्णाली प्रदेश अस्पतालका पूर्वनिर्देशक डा. डम्बर खड्काको घर जलेर खरानी भएको छ ।
आन्दोलनकारीले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको परिवारलाई निसाना बनाउँदै डा. डम्बर र उनका दाइ विष्णु खड्काको घरमा आक्रमण गरेका थिए ।
कैलाश मानसरोवर यात्राबाट फर्किएपछि जलेको घर देख्दा डा. खड्का भावुक बने । उनले भने, “जन्मथलोमा सेवा गर्नु नै अभिशाप भयो, राज्यले हाम्रो जनधनको रक्षा गर्न सकेन।”
उनले आफ्नो ४० वर्षको जागिरे जीवनको सम्पूर्ण कमाइ, लाखौँको पुस्तक संग्रह, छोराको मेडलदेखि आमाको चिनो पियानोसमेत खरानी भएको बताए । पत्नी वियोगबाट अझै उकासिन नसकेको बेला घर जल्नु उनले ठूलो पीडा मानिरहेका छन् ।
कर्णालीमा स्वास्थ्य सेवा बलियो बनाउन जीवन अर्पण गरेका खड्काले कोभिड महामारीताका एक दिन पनि छुट्टी नलिई सेवा गरेको स्मरण गर्दै भने, “हाम्रो योगदानको मूल्य घर जलाएर चुक्ता गरियो।”
यति ठूलो क्षतिको बाबजुद पनि डा. खड्का आत्मबल कमजोर नभएको बताउँछन् । उनका शब्दमा, “हामी यहीँ बस्छौं, पुनर्निर्माण गर्छौं, जरुरी परे यो घरलाई संग्रहालय बनाउन नि:शुल्क दिन पनि तयार छौं।”