हुम्ला। हेल्थ अस मेडिकल सेन्टरले यहाँ सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिकसहित ४२५ जनाले सेवा लिएका छन् ।
दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा २३२ले सिमकोट गाउँपालिका– ८ स्याँडा गाउँमा र १२९ जनाले ७ नं वडाको डाँडाफया स्वास्थ्यचौकीमा सेवा लिएका हुन् ।
शिविरमा चिकित्सकको सिफारिसअनुसार औषधि पनि निःशुल्क वितरण गरिएको छ । शिविरमा जम्मा रु सात लाख बराबरको खर्च भएको आयोजक संस्थाका प्रतिनिधि नारायण फडेराले जानकारी दिए ।
सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँँका ९८ वर्षीय मेघजित शाहीले पहिलो पटक चिकित्सकबाट उपचार पाएको बताए। यत्रो उमेरसम्म चिकित्सकबाट उपचार नपाएको बताउँदै उनले शिविर सञ्चालन भएपछि चिकित्सक आएको कारण उनीहरुसँग उपचार गराएको बताए ।
दम, कान नसुन्ने र आँखामा समस्या आएपछि आफू शिविरमा उपचारका लागि आएको र चिकित्सकले औषधि उपचारसहित परामर्श दिँदा खुसी भएको प्रतिक्रिया दिए ।
तल्लो पेट दुख्ने, ग्याष्ट्रिक, बाथ, श्वासप्रश्वास, युरिक एसिड, दम, मधुमेह, स्त्री रोगसम्बन्धी सम्पूर्ण रोगको परीक्षण तथा निःशुल्क औषधि वितरणका साथै भिडियो एक्सरे, नाक, कान र घाँटीको उपचार शिविरमा गरिएको थियो ।