सुर्खेत। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले कर्णाली प्रदेशमा ठूलो भौतिक नोक्सानी पुर्याएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनमा तीन जिल्लामा ५२ वटा सरकारी र निजी भवन तथा ४५ वटा सवारी साधन आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
क्षतिको सबैभन्दा बढी असर सुर्खेतमा परेको छ, जहाँ ४४ भवनमा नोक्सानी पुगेको छ। जुम्लामा ६ र मुगुमा २ भवन क्षतिग्रस्त भएका छन्। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केदार खनालका अनुसार संघीय, प्रादेशिक, जिल्ला–स्थानीय कार्यालय, निजी भवन, संघ संस्था र राजनीतिक दलका कार्यालयहरूमा पूर्ण वा आंशिक क्षति भएको छ। संघीय १, प्रादेशिक ४, स्थानीय ७, निजी ४, अन्य संस्था १ र दलका ७ कार्यालय पूर्ण रूपमा जलेर प्रयोग अयोग्य बनेका छन्।
यस्तै, आन्दोलनमा सरकारी गाडी ६ पूर्ण रूपमा र १३ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। मोटरसाइकल १४ पूर्ण र ५ आंशिक रूपमा नष्ट भए। निजी गाडी २ पूर्ण र ४ आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने १ मोटरसाइकलमा पनि असर परेको छ।
यस क्रममा कर्णालीका विभिन्न ठाउँमा १३ जना सर्वसाधारण घाइते भएका छन्। प्रहरीले जनाएको छ कि घाइतेहरूको अवस्था सामान्य छ र उनीहरू विभिन्न अस्पतालमा उपचाररत छन्।