वीरेन्द्रनगर। कर्णाली प्रदेशको शैक्षिक सुधारका लागि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीको आयोजनामा भइरहेको कार्यक्रम पाँच दिनसम्म चल्नेछ ।
कार्यक्रमको उद्घाटन शिक्षा सचिव चूडामणि पौडेलले गरे । कर्णालीका ७९ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षा इकाईका प्रतिनिधि, प्रदेशस्तरका निकाय तथा गैरसरकारी संस्थाका सरोकारवालाको सहभागिता रहेको छ ।
कार्यक्रममा शिक्षा नीति, नियम, निर्देशिका, वार्षिक योजना कार्यान्वयन लगायतका विषयमा छलफल हुनेछ । विकास केन्द्रका उपसचिव निलकण्ठ ढकालका अनुसार प्रदेशभरका सरोकारवालालाई एउटै मञ्चमा ल्याई समस्या, चुनौती पहिचान र समाधान खोज्ने लक्ष्य राखिएको हो ।
सुर्खेत शिक्षा निर्देशनालयकी निर्देशक दीपा हमालले यसले तीन तहका सरकारबीचको समन्वय अभाव घटाउने र ‘कक्षा कोठाको शिक्षा सुधार’ मा जोड दिने विश्वास व्यक्त गरिन् । उनले पूर्वाधारमा खर्च बढी भए पनि शैक्षिक नतिजा कमजोर देखिएको भन्दै अब गुणस्तर उकास्न ध्यान दिनुपर्ने बताइन् ।
सचिव पौडेलले विद्यार्थी संख्या कम भएका विद्यालय मर्ज, तह समायोजन र दरबन्दी मिलानजस्ता काम यस आर्थिक वर्षमै अघि बढाइने बताए । साथै शिक्षा बजेट खर्च गर्दा आर्थिक अनुशासन कायम राखी प्रतिफलमुखी परिणाम ल्याउन स्थानीय तहलाई आग्रह गरे ।
कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीसहित अन्य अधिकारीहरूको पनि सहभागिता थियो ।