वीरेन्द्रनगर। लोक सेवा आयोगले आफ्नो ७५औं वार्षिकोत्सव र हीरक जयन्ती वर्ष २०८२ को अवसरमा विद्यार्थीलाई लक्षित कार्यक्रम कर्णालीबाट सुरु गरेको छ ।
बुधबार वीरेन्द्रनगरमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र सदस्य दिनेश सिलवालको उपस्थितिमा कार्यशालामार्फत् कार्यक्रम उद्घाटन गरिएको हो ।
आयोगका अनुसार यस अभियानलाई जिल्ला, पालिका हुँदै वडासम्म पुर्याइनेछ । कार्यक्रममार्फत विद्यार्थीलाई आयोगको सिद्धान्त, कार्यशैली र निष्पक्षताबारे जानकारी दिइनेछ । सहसचिव पुरुषोत्तम शर्माले देशका सातै प्रदेशमा यस्तो कार्यक्रम आयोजना भइरहेको बताए ।
कर्णालीका सबै १० जिल्लाबाट सहभागी विद्यार्थी बोलाइएका छन् । प्रत्येक सदरमुकामस्थित पालिकाबाट कम्तीमा दुई जना छात्रासहित पाँच जना विद्यार्थी अनिवार्य सहभागी गराइएको छ । साथै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी र प्राविधिक शिक्षातर्फका विद्यार्थी पनि कार्यक्रममा सहभागी भएका छन् ।
आयोगले सहभागीलाई “नवोदित मित्र” घोषणा गरेर उनीहरूलाई आफ्ना सहपाठी र विद्यालयमा आयोगबारे जानकारी फैलाउन प्रेरित गर्ने जनाएको छ । सुर्खेत कार्यालय प्रमुख रुद्रबहादुर कार्कीका अनुसार युवापुस्तालाई सरकारी सेवाप्रति आकर्षित गर्ने र आवेदन दिन उत्साहित गराउने उद्देश्य कार्यक्रमको प्रमुख लक्ष्य हो ।
आयोग अध्यक्ष रेग्मीले लोकसेवा आयोगले सामान्य परिवारका नागरिकलाई उच्च पदसम्म पुर्याएको उल्लेख गर्दै युवालाई मिहिनेत र क्षमताका आधारमा यस क्षेत्रमा प्रवेश गर्न आह्वान गरे ।
यसै अवधिमा १६ देखि २७ गतेसम्म देशभर यस्तै कार्यक्रम सञ्चालन हुने र स्थानीय तहसँग सहकार्य गरेर वडासम्म विस्तार गरिने आयोगले जनाएको छ । कर्णालीमा लोक सेवामा जोडिनेमा दैलेखका नागरिक सबैभन्दा अगाडि रहेका छन् ।