नेपाली भाषाको पनि मातृभाषा खस भाषा हो । अनि खस भाषाको राजधानी कर्णाली प्रदेशको जुम्ला जिल्लाको सिँजा क्षेत्र हो । यो तथ्य स्थापित छ । यो स्थापित तथ्य नेपाल सरकारले वर्षौदेखि बेवास्ता गरेको थियो नै । कर्णाली प्रदेश सरकारले पनि केवल आश्वासन र नारामै सीमित राखेको छ ।
तर जुम्लामा एक जना व्यक्ति छन्, जसले नेपाली भाषाको पनि मातृभाषा खस भाषाको संरक्षणका लागि आफ्नो जीवनको अन्तिम ऊर्जा खर्च गरिरहेका छन् । उमेरले ७० वर्ष पार गरिसकेका रमानन्द आचार्य खस भाषाको संरक्षण, ऐतिहासिक विरासत र पुस्तौपुस्तासम्म जिवित राख्नका लागि खस भाषाको शब्दकोष निकाल्न लागि परेका छन् ।
नेपाल एकिकरणपछि गोरखाली राजाहरुले सिँजा राज्य जितेपछि खस भाषाको लोपोन्मुख अवस्थामा पुर्याएका थिए । तर सयौँ वर्षपछि नयाँ संविधान, संघीयता र गणतन्त्र आएपछि नेपाली भाषाको पनि मातृभाषा खस भाषाको संरक्षणका लागि आचार्यले शब्दकोष प्रकाशन गर्न लागेका हुन् । केही वर्षपहिले कर्णालीखबरसँगको कुराकानीमा उनले आर्थिक अभावका कारण खस भाषाको शब्दकोष प्रकाशनको काममा ढिलासुस्ती भइरहेको दुखेसो पोखेका थिए ।
कोही कसैले सहयोग नगरेको, प्रदेश सरकारले पनि बेवास्ता गरेको र आफुस्ँग पर्याप्त स्रोतसाधन नहुँदा खस भाषाको शब्दकोष लेखन र प्रकाशनको काममा ढिला भएको उनको स्वकारोक्ति थियो । तर खस भाषाको शब्दकोष लेखन र प्रकाशनको काम आर्थिक अभावमै नरोकिने पनि प्रतिबद्धता जनाएका थिए ।
नेपाली भाषाको पनि मातृभाषा संरक्षण गर्ने, त्यसलाई वर्षौसम्म विरासतका रुपमा इतिहास सुरक्षित राख्ने र सरकारहरुको बेवास्ताका बाबजुद पनि खस भाषाको शब्दकोष निकाल्न समर्पित भएर कर्णालीको शिर सँधै उचो बनाइराख्ने रमानन्द आचार्यलाई कर्णालीखबरले कर्णालीका सर्वमान्य व्यक्तिका रुपमा ‘कर्णाली लिजेन्ड’ सम्मान प्रदान गर्दछ ।