सुर्खेत। कर्णाली प्रदेश सरकारले ८३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार प्रदेशका विभिन्न मन्त्रालय, निर्देशनालय तथा जिल्लास्तरीय कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको सरुवा गरिएको हो।
प्रदेशको प्रशासनिक कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन यो निर्णय गरिएको सरकारको भनाइ छ। सरुवामा वरिष्ठ शाखा अधिकृत (आठौँ तह) देखि खरिदार (सहायकस्तर चौथो तह) सम्मका कर्मचारीहरू समेटिएका छन्।
सूचीअनुसार, वरिष्ठ शाखा अधिकृत राजेन्द्र पौडेललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ भने पूर्ण प्रसाद उपाध्यायलाई कृषि मन्त्रालयबाट स्वास्थ्य आपूर्ति केन्द्रमा ल्याइएको छ।
यस सरुवाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलगायतका महत्त्वपूर्ण निकायहरू प्रभावित भएका छन्।
कर्मचारीहरूलाई सुर्खेतस्थित मन्त्रालय तथा निकायबाट हुम्ला, मुगु, कालिकोट, जाजरकोट, दैलेख लगायतका जिल्लाका कार्यालयहरूमा पठाइएको छ भने केहीलाई जिल्लाबाट प्रदेश राजधानीमा सरुवा गरिएको छ।
मुख्यमन्त्री कार्यालयले गरेको यो निर्णयले प्रदेशको सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन र विकास निर्माणका काममा गति दिने अपेक्षा गरिएको छ।