सुर्खेत। कर्णालीको पर्यटन सम्भावना उजागर र प्रवद्र्धन गर्न पत्रकारिताको माध्यमबाट सहयोग गर्ने उद्देश्यले ‘कर्णाली पर्यटन पत्रकार मञ्च’ स्थापना भएको छ।
शनिबार सुर्खेतको धार्मिक तथा ऐतिहासिक स्थल काँक्रेविहार परिसरमा पत्रकार सुशीलकुमार खड्काको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सहित मञ्च गठन गरिएको हो।
मञ्चको उपाध्यक्षमा सिर्जना बुढाथोकी, महासचिवमा ओमबहादुर शाही, सचिवमा रजनीकुमारी योगी र कोषाध्यक्षमा नविनकुमार सुवेदी चयन भएका छन्। अन्य सदस्यमा मिमबहादुर रावल, जगतदल जनाला विक, खगेन्द्र शाही र चन्दा कँडेल रहेका छन्।
कर्णालीका पर्यटकीय गन्तव्यहरूको पहिचान गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार गर्ने उद्देश्यले मञ्च गठन गरिएको महासचिव ओमबहादुर शाहीले बताए। उनले भने, “पर्यटन प्रवद्र्धनमा पत्रकारहरूको क्षमता विकास गरी कर्णालीलाई पर्यटकको रोजाइको गन्तव्य बनाउने हाम्रो मुख्य लक्ष्य हो।”
अध्यक्ष सुशीलकुमार खड्काले भने, “कर्णाली प्राकृतिक सौन्दर्यले भरिपूर्ण प्रदेश भए पनि पूर्वाधार अभाव र प्रचारको कमीले पर्यटकीय गन्तव्यहरू ओझेलमा छन्। हामीले पत्रकारितामार्फत यी सम्भावनालाई उजागर गर्नेछौं।”
मञ्चले पर्यटन क्षेत्रसँग सम्बन्धित निकायसँग सहकार्य गरी कर्णालीको पर्यटन विकासमा योगदान पुर्याउने समेत बताएको छ। यसले कर्णालीको पर्यटनलाई समृद्ध बनाउँदै प्रदेशको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।