सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजनसम्मको सम्पूर्ण प्रक्रियामा अझै सुधार आवश्यक रहेको बताएका छन्।
मंगलबार वीरेन्द्रनगरमा आयोजित छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले विगतका अभ्यासबाट पाठ सिक्दै आगामी बजेट निर्माण थप प्रभावकारी बनाइनुपर्ने बताए।
कार्यक्रम ‘कर्णाली प्रदेशसभाका माननीय सदस्यहरूसँग आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१’ र ‘कर्णाली प्रदेश आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१’ को प्रारम्भिक मस्यौदामाथि केन्द्रित थियो।
मुख्यमन्त्री कँडेलले जनताले सरकारका सबै तहका काम एउटै दृष्टिकोणले मूल्याङ्कन गर्ने भएकाले योजना छनोट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता आवश्यक रहेको बताए। उनले विकास तथा निर्माण कार्यमा बजेटको स्रोत जति फरक भए पनि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले जिल्लाबाट आयोजना सिफारिस गर्दा अघिल्लो वर्ष गहिरो अध्ययन नहुँदा बजेट निर्माणमा जटिलता आएको बताए। उनले भने, “अब सङ्कलनमुखी दृष्टिकोण होइन, आवश्यक र प्रभावकारी आयोजनामा केन्द्रित हुनुपर्छ।”
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले नवनिर्मित कार्यविधिले कर्णाली प्रदेशमा सुशासनको सकारात्मक संकेत दिएको टिप्पणी गरे। उनले विगतका कमजोरी सुधार्दै परिणाममुखी योजना कार्यान्वयनका लागि नीतिगत आधार तयार गरिएको बताए।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला विश्वकर्माले कार्यविधि र मापदण्ड अझ स्पष्ट, सरल र व्यवहारिक बनाउन सुझाव दिइन्।
प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले छलफलमा उठेका सुझावहरूको अध्ययन गरी कार्यविधि र मापदण्डमा आवश्यक संशोधन गरिने जानकारी दिए।