सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा तीव्र रूपमा फैलिँदो डेङ्गी संक्रमण नियन्त्रणका लागि १६ वटै वडामा विशेष अभियान सुरु गरेको छ।
लामखुट्टेको टोकाइबाट फैलिने संक्रमणको जोखिम बढेसँगै लामखुट्टे खोजी र नष्ट गर्ने कार्य अभियानमार्फत सुरु गरिएको हो। नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भूपेन्द्रदेव गिरीका अनुसार साउन महिनादेखि कार्तिकसम्म एडिज जातको लामखुट्टेको प्रजननको उपयुक्त समय भएकाले सुरुवातमै व्यापक जनचेतनामूलक कार्यक्रमसहित समुदायस्तरमै अभियान थालिएको हो।
मंगलबार सभाहलमा आयोजना गरिएको कार्यक्रममार्फत अभियानको जानकारी दिँदै गिरीले भने, “डेङ्गी रोकथामका लागि वयस्क लामखुट्टे मात्र होइन, अण्डा, लार्भा र प्यूपा अवस्थासमेत नष्ट गर्नु जरुरी हुन्छ। पानीको सतह वा भित्र रहेका ती अवस्थाहरू नष्ट नगरेसम्म संक्रमण नियन्त्रण सम्भव छैन।”
उनले डेङ्गीको नैसर्गिक उपचार नभएको उल्लेख गर्दै सबै नागरिकलाई हप्तामा कम्तीमा एकपटक घर वरपरका पानी जम्मा हुने स्थान जाँच गरी सफा गर्न आह्वान गरे।
गत वर्ष वीरेन्द्रनगर नगरपालिकामा १,४१६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको थियो, जसबाट नगर क्षेत्र उच्च जोखिममा रहेको स्पष्ट देखिएको उनले बताए।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय सुर्खेतकी प्रमुख करुणा भट्टराईले साउन महिनालाई डेङ्गी सचेतना महिना घोषणा गरिएको जानकारी दिँदै, “समाजमा व्याप्त भ्रम र गलत धारणा हटाउनका लागि समुदायमा सशक्त जनचेतना आवश्यक छ,” भनिन्।
उनका अनुसार संघीय सरकारले तय गरेका रणनीति अनुसार लामखुट्टे प्रजननस्थलको पहिचान र नियन्त्रणका अभ्यासलाई व्यवहारमा लागू गर्ने उद्देश्यले अभियान अगाडि बढाइएको हो।
नगर प्रमुख मोहनमाया ढकालले नगर क्षेत्रमा डेङ्गी परीक्षणको व्यवस्था नगर अस्पताल र लाटिकोइली स्वास्थ्य केन्द्रबाट निशुल्क रूपमा गरिने बताइन्। उनले अभियानलाई टोल, विद्यालय, संस्था, सञ्चारमाध्यम र आम नागरिकको सहभागितामा प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाइन्।
वीरेन्द्रनगर नगरपालिकाले थालेको यो अभियानले नगर क्षेत्रलाई डेङ्गीमुक्त बनाउन ठोस योगदान पुर्याउने विश्वास लिइएको छ।