काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र पछिल्लो समय देखिएको अस्थिरता र आन्तरिक विवादलाई सानो ‘हावाको झोक्का’ भन्दै त्यसले एमालेको स्थायित्व र लक्ष्यलाई असर नपार्ने बताएका छन्।
शनिबार साँझ बालुवाटारमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूसँगको भेटमा ओलीले पार्टी एकता र संगठन सुदृढीकरणमा केन्द्रित हुन नेताहरूलाई निर्देशन दिए।
“एमालेको यात्रा आँधीबेहरी र तुफानका बीचमा हुंदै आएको हो, अहिले देखिएको अस्थिरता सानो झोक्कामात्र हो,” ओलीले भने, “यसमा अलमलिनु हुँदैन, आफ्नो जिम्मेवारीअनुसार क्षेत्रीय तहमा पार्टी बलियो बनाउनुहोस्।”
ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा कर्णालीबाट आएको एकताको सन्देशको प्रशंसा गरे। साथै, आगामी निर्वाचनमा एमालेलाई प्रमुख राजनीतिक शक्ति बनाउने उद्देश्यले अभियान चलाउन नेताहरूलाई आह्वान गरे।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति अप्रत्यक्ष टिप्पणी गर्दै ओलीले पार्टी सदस्यता विवादमा संलग्न हुनुले गणतन्त्रको प्रतिमूर्ति भएकी नेताको गरिमा खस्किएको टिप्पणी गरे। “संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक बन्नुपर्ने व्यक्तिले सदस्यता विवादमार्फत आफ्नो कद घटाउनु दुःखद हो,” ओलीको भनाइ उद्धृत गर्दै कर्णाली इञ्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए।
ओलीले एमालेले अपनाएको राष्ट्रवादी नीति, विकासप्रति केन्द्रित कार्यक्रम, र लोकप्रिय निर्णयहरूले केही प्रतिपक्षी शक्ति आत्तिएका कारण पार्टीभित्र अस्थिरताको माहोल सिर्जना गरिएको दाबी गरे।
उनले २०८४ को निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई पहिलो शक्ति बनाउन एकताबद्ध ढंगले संगठन विस्तारमा लाग्नुपर्नेमा विशेष जोड दिए।