सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्षको बजेट प्रभावकारी र परिणाममुखी रूपमा कार्यान्वयन गर्न सरोकारवालाहरूलाई निर्देशन दिएका छन्।
अघिल्लो वर्ष देखिएका कमजोरी र अव्यवस्थाबाट पाठ सिक्दै यो वर्ष योजना व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिए। शुक्रबार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयद्वारा आयोजित वार्षिक समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योजना केवल कागजमा सीमित नरहोस् भनेर समयमै कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए।
‘बजेट निर्माणदेखि कार्यान्वयनसम्मको हरेक चरण पारदर्शी, जवाफदेही र समन्वययुक्त हुनुपर्छ,’ उनले भने, ‘ढिलासुस्ती, खर्चमा असन्तुलन, कमजोर अनुगमन र निम्न गुणस्तरको निर्माण कार्य अब नदोहोरियोस्।’
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारका सचिव, विभागीय प्रमुख, तथा स्थानीय कार्यालयहरूलाई विकास आयोजनाको कार्यान्वयनमा गम्भीरता देखाउन निर्देशन दिएका छन्। साथै, संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय मजबुत बनाउँदै अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि उनले बताए।
उनका अनुसार जनताको वास्तविक आवश्यकता पहिचान गरी त्यसको आधारमा योजना बनाइयो भने मात्र त्यसको प्रत्यक्ष प्रभाव जनताको जीवनमा देखिनेछ।
कार्यक्रममा मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा विभिन्न जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति थियो। सहभागीहरूले योजना कार्यान्वयनमा देखिएका व्यवहारिक चुनौतीहरू र सम्भावित समाधानहरू प्रस्तुत गरेका थिए।