सुर्खेत। आर्थिक वर्ष २०८१/०८२ मा सुर्खेत जिल्लामा ४ सय २३ सवारी दुर्घटना भएका छन्, जसमा ३८ जनाले ज्यान गुमाएका छन् भने ९ सय ३६ जना घाइते भएका छन्।
मृत्यु हुनेमध्ये २९ जना पुरुष, ६ महिला, १ बालक र ३ बालिकाहरू छन्। मृतकमध्ये १२ जना चालकसमेत परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार यो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १७ हजार १ सय ५१ सवारीसाधनविरुद्ध कारबाही गर्दै १ करोड ४५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। यो गत वर्षको तुलनामा २९ लाख रुपैयाँले बढी हो।
कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा धेरै ६ हजार ७ सय ५० वटा मोटरसाइकल छन्। त्यस्तै, ३ हजार ७२ जिप, कार र भ्यान, २ हजार ८ सय ६१ ट्रक–टिपर, २ हजार २५ अटो–टेम्पो, १ हजार ६ सय १४ बस–मिनीबस र ८ सय २९ ट्र्याक्टर छन्।
गत आव २०८०/०८१ मा ६ सय ७३ वटा सवारी दुर्घटना भएका थिए। सो अवधिमा २८ जनाको मृत्यु भएको थियो भने ११ सय ८४ जना घाइते भएका थिए। त्यतिबेला १५ हजार ८ सय ४२ सवारीसाधन कारबाहीमा परेका थिए र १ करोड १५ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
ट्राफिक प्रहरी प्रमुख वकिल सुनारका अनुसार, सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। क्याम्पस, विद्यालय, पैदल यात्री, चालक तथा सवारीधनीलाई लक्षित गरेर २ हजार ५ सय ३४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका थिए। यसबाट १ लाख १३ हजार १ सय २ जना लाभान्वित भएका छन्।
उनका अनुसार, दुर्घटना न्यूनीकरणका लागि ८ सय ८६ वटा रोड फर्निचर र जानकारीमूलक बोर्डहरू जडान गरिनुका साथै, वीरेन्द्रनगर क्षेत्रमा पहिलोपटक ट्राफिक लाइट र सिसी क्यामेरा जडान गरिएको छ। विभिन्न कमजोर क्षेत्रहरूको पहिचान गरी संरचनागत सुधार पनि गरिएको ट्राफिक प्रहरीले जनाएको छ।