सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह थप चर्कँदै गइरहेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदबाट हटाउने निर्णय गरेका छन्। जसले विवादलाई झनै गहिरो बनाएको छ।
शुक्रबार लिङ्देनको अध्यक्षतामा बसेको बैठकले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै जिम्मेवारीबाट बर्खास्त गरेको छ। पार्टीले गिरीमाथि "पार्टी हितविपरित गतिविधि" गरेको आरोप लगाएको छ।
तर, गिरीले उक्त निर्णयप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले आफूलाई विधानविपरीत तरिकाले हटाइएको दाबी गर्दै यो निर्णयलाई "राजनीतिक जीवनमाथिको खेलबाड" भन्दै आलोचना गरेका छन्।
गिरीले आफ्नो राजनीतिक योगदानको स्मरण गराउँदै लेखेका छन्, “राप्रपाको स्थापना भएदेखि नै म पार्टीको निष्ठावान कार्यकर्ता भएर लागिरहेँ। ०४३ सालमा प्रधानपञ्च र वीरेन्द्रनगर नगरपालिकाको मेयरको जिम्मेवारीमा रहेर जनताको सेवा पनि गरेको छु।”
उनले पार्टीभित्र देखिएको समस्यालाई कानुनी र विधिसम्मत ढंगबाट समाधान गर्न खोज्दा उल्टै अनुचित कारबाहीको सिकार हुनुपरेको बताएका छन्। गिरीका अनुसार यस्तो निर्णयले आफ्नो त्याग, योगदान र समर्पणको अवमूल्यन भएको छ।
उनले पार्टी सुदृढीकरण र उद्देश्य पूर्तिका लागि आफू अझै सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। साथै, उनले कार्यकर्तालाई पनि नेतृत्वको "अन्यायपूर्ण निर्णय" विरुद्ध चनाखो रहन आग्रह गरेका छन्। “अब नेतृत्वको समर्थन गर्ने कि लोकतान्त्रिक मूल्यको पक्षमा उभिने भन्ने जिम्मेवारी सबै कार्यकर्ताको काँधमा छ,” उनले लेखेका छन्।
गिरीले अन्त्यमा “राप्रपा जिन्दावाद, जय राष्ट्रवाद” भन्दै पार्टीप्रतिको आफ्नो प्रतिबद्धता यथावत रहेको संकेत गरेका छन्।