सुर्खेत। सुर्खेत प्रहरीले एक मिडिया हाउसको आवरणमा लुकेको अपराध सञ्जाल भण्डाफोर गरेको छ। जनगर्जन नेटवर्क प्रा.लि. नामक सञ्चार संस्थाबाट नक्कली नोट छाप्ने र अफिम कारोबार चलाउने संगठित गिरोहलाई पक्राउ गरी सुर्खेत प्रहरीले घटनालाई सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार पक्राउ परेकाहरूको साथबाट १३ लाख रुपैयाँबराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा बढी अफिम जस्तो देखिने पदार्थ, र नोट छाप्न प्रयोग हुने विभिन्न डिजिटल उपकरण बरामद गरिएको छ।
प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीका अनुसार एक गोप्य सूचनाको आधारमा प्रहरीले अपरेसन सुरु गरेको थियो। ‘मिडिया जस्तो संवेदनशील र सम्मानित क्षेत्र प्रयोग गरेर अपराध लुकाउने प्रयास गरिएको देखिन्छ,’ उनले भने, ‘यो निकै गम्भीर र गहिरो अनुसन्धानको विषय हो।’
प्रहरीको अपरेसनको सुरुवात सोमबार वीरेन्द्रनगर नगरपालिका–१०, शान्तिटोलबाट भएको हो। त्यहाँबाट प्रहरीले २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई ६ हजार नक्कली रुपैयाँसहित पक्राउ गर्यो।
उनको बयानका आधारमा प्रहरीले सोही दिन कुशे गाउँपालिका–५ का ३३ वर्षीय राम बहादुर सिंहको डेरामा छापा मार्दा १२ लाख ३६ हजार रुपैयाँ बराबरको नक्कली नोट फेला पार्यो।
त्यसपछि अनुसन्धान अझै गहिरिँदै जाँदा, कुशे गाउँपालिका–७ का कृष्ण बहादुर वलीलाई भेरीगंगा नगरपालिका–१२ बाट ११ किलो ३७२ ग्राम अफिम जस्तो देखिने पदार्थसहित पक्राउ गरियो।
पक्राउ परेका व्यक्तिहरूको मोबाइल डेटा र बयानबाट कोहलपुर नगरपालिका–११, न्यूरोडमा रहेको जनगर्जन नेटवर्क प्रालिमा संलग्नता देखिएपछि प्रहरीले मिडिया कार्यालयमै छापा मार्यो।
छापाको क्रममा प्रहरीले कार्यालय सञ्चालक ३४ वर्षीय मन बहादुर सहकारी र ३८ वर्षीय प्रेम बहादुर वि.क.लाई नियन्त्रणमा लियो। त्यहाँबाट ५१ हजार रुपैयाँ नक्कली नोट, १९ किलो ३०० ग्राम अफिम जस्तो पदार्थ, र नोट छाप्न प्रयोग हुने कम्प्युटर, प्रिन्टर, स्क्यानर, कार्ड रिडर, क्यामेरा लगायत उपकरण बरामद गरियो।
प्रहरीले सबै पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखी नक्कली मुद्रा उत्पादन तथा लागुऔषध कारोबार सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ।
एसपी शाहीका अनुसार, ‘यो घटनाले अपराधीहरूले कसरी मिडिया जस्ता क्षेत्रको आड लिएर संगठित आपराधिक गतिविधि गर्दै आएका छन् भन्ने प्रमाणित भएको छ। यस्ता गतिविधिहरूप्रति प्रहरी अझ सतर्क र चनाखो हुनेछ।’
पक्राउ परेका दिलमाया सिंह ठकुरी (२२ वर्ष) – जाजरकोट, राम बहादुर सिंह (३३ वर्ष) – जाजरकोट, कृष्ण बहादुर वली (३५ वर्ष) – जाजरकोट, प्रेम बहादुर वि.क. (३८ वर्ष) – जाजरकोट, मन बहादुर सहकारी (३४ वर्ष) – कालिकोट, जनगर्जन नेटवर्क प्रा.लि.का सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।