सुर्खेत। सुर्खेत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषित गरिएको छ। जिल्ला समन्वय समिति सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको औपचारिक सभामार्फत सुर्खेतलाई यो उपाधिमा सम्मान गरिएको हो।
घोषणासभामा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेतले यो उपलब्धि हासिल गरेकोमा बधाई दिँदै, आगामी दिनमा यसको निरन्तरतामा विशेष ध्यान दिन आग्रह गरेका छन्।
उनले पछिल्लो समय स्वास्थ्य जनशक्ति बढेको भए पनि स्वास्थ्य सूचकमा अपेक्षित सुधार नआएको उल्लेख गर्दै, वीरेन्द्रनगरजस्ता स्थानमा बढ्दो बसाइँसराइका कारण थप चुनौतीहरू सिर्जना भएको बताए। यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरूको सक्रियता र जिम्मेवारी बढ्नुपर्नेमा मन्त्री भण्डारीको जोड थियो।
कार्यक्रममा प्रदेश खोप समितिका संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले खोपले रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले खोप अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन्। साथै, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको मनोबल उच्च राख्न मन्त्रालय प्रतिबद्ध रहेको पनि उहाँले बताए।
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारका अनुसार विकट भौगोलिक अवस्थाका कारण खोप अभियान अझै पनि चुनौतीपूर्ण छ। सुर्खेतमा विसं २०३५ सालदेखि खोप कार्यक्रम सञ्चालनमा आएको भए पनि पूर्ण खोप सुनिश्चितता र दिगोपनाको औपचारिक घोषणा हुन करिब ५० वर्ष लागेको उनको भनाइ थियो।
कर्णाली प्रदेशका सात जिल्लालाई हालसम्म पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिसकिएको छ। अब यो अभियानलाई थप प्रभावकारी बनाउँदै अन्य जिल्लामा समेत विस्तार गर्ने लक्ष्य रहेको प्रदेश सरकारको भनाइ छ।