सुर्खेत। सुर्खेत जिल्लाका सबै सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूको बहिरङ्ग सेवा (ओपीडी) बन्द गरिएको छ।
नेपाल चिकित्सक संघको केन्द्रद्वारा आह्वान गरिएको आन्दोलनमा समर्थन जनाउँदै नेपाल चिकित्सक संघ सुर्खेत शाखाले जिल्लाभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरेको हो।
स्वास्थ्यकर्मीहरूमाथि उपभोक्ता अदालतबाट भएको कारबाहीको निर्णयप्रति आपत्ति जनाउँदै संघले आन्दोलनको घोषणा गरेको हो। चिकित्सक संघ सुर्खेत शाखाका अध्यक्ष डा. विकास केसीले स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षालाई गम्भीरतापूर्वक लिनु आवश्यक रहेको बताए।
‘हामी नागरिकलाई असुविधा होस् भन्ने चाहँदैनौं, तर स्वास्थ्यकर्मीहरूमाथि यस्ता घटना दोहोरिन नदिन सम्बद्ध निकायले तत्काल कदम चाल्नुपर्छ,’ डा. केसीले भने। उनले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी नीति र कानुनी संरचना तत्काल लागू गर्न सरकारसँग माग गरे।
उनले सम्पूर्ण अस्पताल, पोलिक्लिनिक, निजी क्लिनिक, अफिन, नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्यकर्मी संघ तथा अन्य पेशागत संघसंस्थालाई आन्दोलनमा ऐक्यबद्धता जनाएर सहभागी हुन आह्वान गरे।
संघले ओपीडी सेवा बन्द गर्दा बिरामीहरूमा पर्न गएको असरप्रति खेद व्यक्त गरेको छ। डा. केसीका अनुसार यसबाट सिर्जित समस्याको जिम्मेवारी सरकार आफैले लिनुपर्नेछ।
ओपीडी सेवा बन्द हुँदा टाढाटाढाबाट उपचारका लागि सुर्खेत आएका बिरामीहरू विशेषतः बढी समस्यामा परेका छन्। आकस्मिक सेवा भने यथावत् रहेको जनाइएको छ।