सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पूनाथमा कर्णाली नदीमाथि निर्माण गरिएको बेलीब्रिज उद्घाटन गरेका छन्। तर सो ऐतिहासिक कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद जीवनबहादुर शाही भने सहभागी भएनन्।
सत्तारुढ गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसका कर्णाली प्रदेश संसदीय दलका नेता शाहीको अनुपस्थितिलाई राजनीतिक दृष्टिले अर्थपूर्ण मानिएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थिति थियो। तर शाहीले कार्यक्रममा भौतिक रूपमा नभई सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।
शाहीले हुम्लाबासीलाई बधाई दिंदै वर्तमान सरकारलाई सडक सञ्जालमा हुम्लालाई जोड्ने प्रयासको श्रेय दिएका छन्। उनले लेखेका छन्, “हुम्ला जिल्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा छिटो पुर्याउने कार्यको क्रेडिट वर्तमान सरकारलाई नै जान्छ।”
तर, उनले विगतका सरकारहरूको योगदानलाई बेवास्ता नगर्न आग्रह गर्दै व्यङ्ग्यात्मक टिप्पणी पनि गरेका छन्। उनले भनेका छन्, “१०० डिग्री तापक्रम पश्चात् मात्र पानी उम्लन्छ र आकार लिन्छ भन्ने महत्त्वपूर्ण पाटोलाई हामीले कहिल्यै नजरअन्दाज गर्नु हुँदैन।”
शाहीको यो भनाइले सडक सञ्जाल विस्तारमा आफूले मुख्यमन्त्री हुँदा गरेका प्रयासहरूको स्मरण गराएको छ।
उनले उद्घाटन गरिएको फलामे बेलीब्रिजलाई अस्थायी समाधान भनेका छन्। पक्की पुलको निर्माण ढिलाइ भएकोप्रति असन्तुष्टि जनाउँदै उनले लेखेका छन्, “आज हस्तान्तरण भएको रेडिमेट बेलीब्रिज अस्थायी समाधान मात्र हो। यसको स्थायी समाधान भनेको पक्की पुलको तत्काल निर्माण र बजेट सुनिश्चितता हो।”
टाढैबाट धन्यवाद दिंदै उनले आगामी दिनमा कर्णाली राजमार्गको स्तरोन्नति तथा पक्की पुलको निर्माणमा सरकारको ध्यान जानुपर्ने विश्वास व्यक्त गरेका छन्।
साथै, उनले जनप्रतिनिधिको रूपमा सडक विस्तार र निर्माणप्रति आफू सधैं सजग र क्रियाशील रहने प्रतिबद्धता पनि जनाएका छन्। उनको यस्तो टाढाको प्रतिक्रिया र अनुपस्थिति उद्घाटन समारोहप्रति असन्तुष्टि प्रकट भएको रुपमा हेरिएको छ।