सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिका देशकोे भविष्य भएकाले उनीहरूलाई केन्द्रमा राखेर नीति, योजना र कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।
शनिबार वीरेन्द्रनगर नगरपालिका–८ ले आयोजना गरेको वातावरणमैत्री र बालमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि स्थानीय, प्रदेश र संघ सरकारले जिम्मेवारी बोधका साथ ध्यान दिनुपर्ने बताएका हुन् । 'बालबालिकालाई हामीले आज सुरक्षित, सशक्त र सम्मानजनक वातावरण दिन सक्यौँ भने मात्र भोलिको समुन्नत समाज निर्माण सम्भव हुन्छ,' उनले भने ।
वातावरण संरक्षण र बाल अधिकार प्रवद्र्धनलाई परस्पर पूरक विषयका रूपमा जोड्दै स्वस्थ वातावरणमा हुर्कने बालबालिका नै समुन्नत राष्ट्र निर्माणका संवाहक हुने मुख्यमन्त्री कँडेलले बताए । कर्णाली प्रदेश सरकारले बालमैत्री समाज निर्माणका लागि नीति, बजेट र कार्यक्रमहरूलाई प्राथमिकतामा राखी बालबालिकाको स्वास्थ्य, शिक्षा, अभिव्यक्ति तथा सुरक्षित हुने अधिकार सुनिश्चित गर्दै बालमैत्री संरचना विकास ध्यान दिने मुख्यमन्त्री कँडेलले बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, बाल क्लबका प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।