सुर्खेत। कर्णाली प्रदेशसभाले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
तर, बजेट पारित भएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सन्तोषी शाहीले सार्वजनिक रूपमै कडा असन्तुष्टि व्यक्त गरेकी छन्।
प्रदेश सभा भवनअगाडि उभिएर तस्बिर खिचाउँदै विरोध प्रदर्शन गरेकी सांसद शाहीले उक्त बजेटलाई ‘दलालीको बुलेटिन’ भन्दै गम्भीर राजनीतिक सौदाबाजी र बेइमानी भएको आरोप लगाएकी हुन्।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेकी छन्, “बजेट न त जनताको चाहना अनुसार, न त प्रदेशको आवश्यकतालाई ध्यान दिएर बनेको हो। यो त बिचौलियाहरूको टेबुल र कमिसनको हिसाबकिताब हेरेर बनाइएको बजेट हो।”
शाहीले सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रमाथि समेत गम्भीर प्रश्न उठाउँदै, सुरुवातमा बजेटविरुद्ध देखिएको तीव्र विरोध अन्ततः भागबन्डाको सहमतिमा टुंगिएको दाबी गरिन्।
उनले लेखिन्, “सुरुमा आँखा रातो पारेर रोष्टम च्यात्ने, चर्का भाषण दिने तर अन्तिममा भागबन्डा मिलाएर रातारात समर्थन गर्ने—यो पुरानै राजनीतिक नौटङ्की हो।”
उनको भनाइमा, पारित बजेटले कर्णाली प्रदेश र यहाँका जनताको हितमा कुनै योगदान पुर्याउने सम्भावना छैन। उनले दोहोर्याइन्, “यो जनताको बजेट होइन, दलालीको बुलेटिन हो।”
‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’ भन्ने नारा व्यवहारमा खोक्रो सावित भएको टिप्पणी गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा थपिन्, “बन्छ कर्णाली हाम्रै पालामा हैन त? लौ, बधाई छ!”
सांसद शाहीको कडा आलोचनामा नेकपा (एकीकृत समाजवादी) की सांसद कल्याणी खड्काले समर्थन जनाउँदै भनिन्, “यो बजेट त ठूला तीन दलको मात्र मिलेमतोको उपज हो।”