वीरेन्द्रनगर। कर्णाली प्रदेश सरकारले प्रदेशभरका पत्रकारहरूलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहलमा सञ्चालित उक्त कार्यक्रम शुक्रबारदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।
सम्झौता कार्यक्रममा मन्त्रालयका निमित्त सचिव उत्तम गौतम, राष्ट्रिय बिमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइराला र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका महासचिव खगेन्द्रप्रसाद भट्टराई सहभागी थिए।
आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रालयले १५ लाख रुपैयाँ बजेट विनियोजन गरी यो बिमा कार्यक्रम अगाडि सारेको हो। बिमा कार्यक्रम अन्तर्गत एक वर्षको अवधि भित्र पत्रकारले ७० हजार रुपैयाँसम्मको उपचार खर्च बिमा कम्पनीबाट दाबी गर्न सक्नेछन्।
महासचिव भट्टराईका अनुसार, ६९३ जना पत्रकार यो योजनाबाट लाभान्वित हुनेछन्। महासंघका सदस्य मात्र नभई सक्रिय पत्रकारितामा रहेका अन्य पत्रकारहरूलाई समेत समेटिएको छ।
दीर्घरोग, आकस्मिक उपचार, औषधि खर्च, ओपीडी सेवा लगायतका उपचार खर्चहरू सरकारी निकायमा दर्ता भएका स्वास्थ्य संस्थाबाट गराएमा बिमाले व्यहोर्नेछ।
बिमा दाबी गर्न बिरामी परेको ६० दिनभित्र र डिस्चार्ज भएको ३५ दिनभित्र बिमा कम्पनीलाई जानकारी दिनुपर्नेछ। ओपीडी सेवामा २० प्रतिशत र अस्पताल भर्ना उपचारमा ८० प्रतिशतसम्मको खर्च बिमाले व्यहोर्ने प्रावधान छ।
राष्ट्रिय बिमा कम्पनीकी बजार विभाग प्रमुख हिराकुमारी बर्तौलाका अनुसार, पत्रकारहरूसँग २ हजार रुपैयाँ बिमा शुल्क लिएर सम्झौता गरिएको हो।