सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबारदेखि ‘सगरमाथा वृक्षारोपण महाअभियान’ विधिवत रूपमा सुरु गरिएको छ। राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर प्रदेश प्रमुख यमलाल कँडेलले मुख्यमन्त्री निवास नजिक निर्माणाधीन सिएम पार्कमा कपुरको बिरुवा रोप्दै अभियानको उद्घाटन गरेका हुन्।
डिभिजन वन कार्यालय, सुर्खेतको समन्वयमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीसँगै प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय तहका प्रतिनिधि, सचिवहरू, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासीहरूको सक्रिय सहभागिता देखिएको थियो।
अभियान अन्तर्गत सहभागीहरूले सिएम पार्कमा कपुर, गोल्डमोहर, वीरेन्द्र फूल, कल्की फूल, पारिजात, निम, बेल, स्वामी र धुपीजस्ता सौन्दर्यमूलक तथा धार्मिक महत्व बोकेका बिरुवाहरू रोपे।
जिल्ला वन अधिकृत वसन्तबाबु श्रेष्ठका अनुसार, साउन १५ गतेसम्म सञ्चालन हुने यो अभियानअन्तर्गत सुर्खेत जिल्लाभर ५१ हजार १११ वटा बहुवर्षीय र सदाबहार बिरुवा रोपिने लक्ष्य राखिएको छ।
अभियान दुई खण्डमा सञ्चालन हुनेछ। पहिलो, ‘प्रदेश राजधानी हरियाली कार्यक्रम’ अन्तर्गत वीरेन्द्रनगर नगरक्षेत्रका सडक किनाराहरू, डिभाइडर, सार्वजनिक स्थल, मठमन्दिर र विद्यालय परिसरहरूमा एक हजार १११ वटा सौन्दर्यवर्धक बिरुवाहरू रोपिनेछन्।
दोस्रो योजना ‘सामुदायिक वन संरक्षण अभियान’ अन्तर्गत सामुदायिक वनका खाली जमिनहरूमा काष्ठ, जडीबुटी तथा डाले घाँस प्रजातिका ५० हजार बिरुवाहरू रोपिने र तिनको संरक्षण सुनिश्चित गरिने बताइएको छ।
नेपाल सरकारको मन्त्रिपरिषद्ले असार ८ गते ‘सगरमाथा वृक्षारोपण महाअभियान’ राष्ट्रव्यापी रूपमा घोषणा गरेसँगै यसलाई सुर्खेतमा प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याइएको हो।
अभियानले सुर्खेतलाई थप हरियाली, स्वच्छता तथा वातावरणीय सन्तुलन कायम गर्न मद्दत पुर्याउने विश्वास प्रदेश सरकारको रहेको छ।