सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति, कार्यक्रम र बजेट नगर सभाबाट पारित गरिएको छ।
बिहीबार बसेको १७औँ नगर सभामा उक्त प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।
सभाबाट विनियोजन विधेयक २०८२, आर्थिक विधेयक २०८२ र न्यायिक समितिको प्रतिवेदनसमेत पारित गरिएका छन्। नगरपालिकाले कर्णाली प्रदेशको राजधानीमा बसाइँ सर्ने जनशक्तिको सीप र क्षमतालाई सदुपयोग गर्दै ‘ज्ञान बैंक’ स्थापना गर्ने योजना अघि सारेको छ।
यसैगरी, नगरले प्राप्त स्रोत र साधनको अधिकतम उपयोग गर्दै पूर्वाधार, सामाजिक विकास र समावेशीकरणका क्षेत्रमा प्राथमिकता दिने नीति लिएको छ।
नेपाल सरकारको मापदण्ड अनुसार पूर्वाधार, जनसंख्या र राजस्वको अवस्था हेर्दा वीरेन्द्रनगरलाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने प्रस्ताव पनि नीति दस्तावेजमा समावेश गरिएको छ।
आगामी वर्षका लागि नगरपालिकाले चार अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो। नगरको यातायात प्रणाली सुधारका लागि दुई करोड रुपैयाँको बजेट छुट्याउँदै नगर बस खरिद गरी सञ्चालन गर्ने योजना बनाइएको छ।
सभामा विधायन समितिकी संयोजक यामुना नेपालीले प्रस्तुत गरेका खानेपानी, सरसफाइ तथा स्वच्छता विधेयक २०८२, वीरेन्द्रनगर खानेपानी तथा सरसफाइ बोर्ड विधेयक २०८२, र नगर शिक्षा ऐन २०७४ को तेस्रो संशोधन विधेयक पनि पारित गरिएको छ।
त्यस्तै, लेखा समितिका संयोजक दिपेन्द्र कोइरालाले पेश गरेको लेखा प्रतिवेदन पनि नगर सभाले अनुमोदन गरेको छ। यससँगै वीरेन्द्रनगरले आगामी आर्थिक वर्षका लागि नीतिगत तथा वित्तीय तयारीलाई औपचारिक रूप दिएको छ।