सुर्खेत। कर्णाली प्रदेशको राजनीतिमा अहिले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच शब्द युद्ध चर्किएको छ। नेपाली कांग्रेसले प्रतिपक्षी दललाई ‘कायर’ भन्ने टिप्पणी गरेपछि माओवादीले कडा प्रतिवाद गर्दै कांग्रेसमाथि नैतिक प्रश्न उठाएको छ।
बुधबार कांग्रेस सांसद तथा पूर्व अर्थमन्त्री वेदराज सिंहले संसदमा बोलेका थिए, “लाचार सरकार र कायर प्रतिपक्षको चेपुवामा कांग्रेस परेको छ।” उनको यिनै भनाइको जवाफमा बिहीबार माओवादी संसदीय दलका नेता राजकुमार शर्माले तीव्र प्रतिक्रिया जनाए।
शर्माले कांग्रेसलाई खुला चुनौती दिँदै भने, “हामीलाई कायर भनियो, ठीक छ। तर तपाईंहरू बहादुर हुनुहुन्छ भने सरकारबाट बाहिर निस्कनुस्। जुकोझैं टाँसिएर किन बसिरहनुभएको? छातीमा दम छ भने, बाहिरिएर देखाउनुहोस्।”
उनले कांग्रेस सांसदकै भनाइलाई आधार बनाएर कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रश्न गरे— “यो सरकार लाचार हो भन्ने तपाईंहरूकै भनाइ हो भने, त्यसरी लाचार भएर सरकारमा किन बसिरहनुभएको छ?”
शर्माले आफूहरू प्रतिपक्षमा बसेर रचनात्मक ढंगले काम गर्न खोज्दा कांग्रेसले ‘कायर’को आरोप लगाउनु अनुचित भएको बताए। उनले भने, “हामी सहकार्य गर्न तयार छौँ भन्ने कुरा कायरता हो? के हामीले लठ्ठी बोकेर मात्रै आवाज उठाउनुपर्छ? हामी जहाँ समस्याहरू छन्, त्यहाँ बोलेका छौँ। सकारात्मक काममा साथ दिनु अपराध हो?”
कर्णालीमा अहिले सत्तारूढ गठबन्धनभित्रको अन्तरद्वन्द्व खुला बहसमा परिणत हुँदै गएको छ, जसले प्रदेश सरकारको स्थायित्व र आपसी भरोसामा असर पार्ने संकेत देखिन थालेको छ।