सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अब नगरवासीलाई सुलभ र व्यवस्थित सार्वजनिक यातायात सेवा उपलब्ध गराउन नगरबस सञ्चालन गरिने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ बाट नगरबस सञ्चालनको तयारी थालिएको हो।
वीरेन्द्रनगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख मोहनमाया ढकालले नगरक्षेत्रभित्र सर्वसुलभ, भरपर्दो र सुरक्षित यातायात सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरी नगरबस सञ्चालन गरिने जानकारी दिइन्। नगरबस योजना सहरको तीव्र सहरीकरण, भीडभाड, महँगो भाडा र अव्यवस्थित यातायातको समस्यालाई समाधान गर्न ल्याइएको हो।
यस योजना अन्तर्गत बस खरिद र सञ्चालनको लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख निलकण्ठ खनालले जानकारी दिएका छन्। उनले नगरबस सञ्चालनका लागि आवश्यक मोडालिटी, भाडादर, रुट निर्धारण, र समय तालिका तयार पार्ने प्रक्रिया अगाडि बढिसकेको पनि बताए।
हाल वीरेन्द्रनगरमा सार्वजनिक यातायातको मुख्य रूपमा अटो–रिक्सा प्रयोगमा छन्, जसले उच्च भाडा, अव्यवस्थित रुट, समयअनुसार सेवा नपाइने समस्या निम्त्याएको छ। यसअघि पनि निजी क्षेत्रबाट नगरबस सञ्चालन गरिएको थियो, तर दीर्घकालीन योजना र व्यवस्थापनको अभावमा केही समयमै बन्द गरिएको थियो।
नगरपालिकाले यो पटक दीर्घकालीन योजना र नागरिकको आवश्यकतालाई ध्यानमा राखेर बस सञ्चालन गर्न लागेको हो। नगर क्षेत्रका विभिन्न प्रमुख बस्तीहरू र सेवास्थलहरूलाई जोड्ने गरी बस रुट तय गरिने बताइएको छ।
नगरपालिकाले छिट्टै बस सञ्चालनको मोडालिटी, भाडादर, सेवा समय, यात्रु सुरक्षासम्बन्धी मापदण्ड र व्यवस्थापनसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
सार्वजनिक यातायात सुधारका लागि यो योजना वीरेन्द्रनगरको शहरी व्यवस्थापनमा ऐतिहासिक पहलका रूपमा लिइएको छ। नगरवासी, विद्यार्थी, वृद्धवृद्धा तथा विशेष आवश्यकताका व्यक्तिहरूलाई लक्षित गरी सेवा सुविधा सहज र सुलभ हुने अपेक्षा गरिएको छ।