सुर्खेत। बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ७ लाख ४८ हजार ९ सय ९९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
मंगलबार गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीको अध्यक्षतामा बसेको १७ औँ गाउँसभाको पहिलो बैठकमा उपाध्यक्ष लक्ष्मी पुन मगरले नीति, कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी हुन्।
बजेट प्रस्तुत गर्दै उपाध्यक्ष पुनले सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी जनमुखी कार्यक्रमहरूलाई समेटिएको जानकारी दिइन्। उनले आगामी वर्षको बजेटले उत्पादन वृद्धिसँगै रोजगारी सिर्जना, महिला सशक्तीकरण, युवा स्वरोजगार, सेवा प्रवाहमा दक्षता, पूर्वाधार निर्माण र सामाजिक समावेशीतालाई प्राथमिकता दिएको बताइन्।
उनका अनुसार बजेटले मुख्यतया पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र सामाजिक विकास जस्ता बहुआयामिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ। गाउँपालिकाले कृषि अनुदान कार्यक्रम, सिँचाइ विस्तार, पशुपालन प्रवर्द्धन, व्यावसायिक बगैँचा, कृषक सहकारीमा लगानीजस्ता कार्यक्रम ल्याएको छ।
त्यस्तै, शिक्षा क्षेत्रमा विद्यालय पूर्वाधार सुधार, छात्रवृत्ति, तालिम तथा प्रविधि समावेश गरिएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार, सुरक्षित मातृत्व सेवा, नियमित स्वास्थ्य शिविर सञ्चालनलगायत कार्यक्रम समावेश छन्। रोजगारी सिर्जनाको उद्देश्यले सीपमूलक तालिम, स्वरोजगार योजनालाई बजेटमा समेटिएको छ।
सामाजिक विकासका लागि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित तथा पिछडिएको समुदायका लागि लक्षित कार्यक्रमहरू पनि बजेटमा राखिएको छ। गाउँपालिकाले आगामी वर्षको विकास र सेवा प्रवाह जनउत्तरदायी, समावेशी र दिगो हुने विश्वास व्यक्त गरेको छ।