काठमाडौँ। सुर्खेतबाट वातावरण संरक्षण, कर्णालीको समग्र विकास, सुशासन स्थापनाको माग र भ्रष्टाचारविरुद्ध खबरदारी अभियानका साथ पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका नवराज बोहोराले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन्।
बोहोराले झन्डै तीन साताको यात्रा तय गरी काठमाडौं आइपुगेपछि सोमबार बिहान प्रचण्डसँग भेट गरेका हुन्। भेटका क्रममा उनले कर्णाली क्षेत्रमा भइरहेका अनियमितता, सुशासनको अभाव, विकासको धीमा गति र पर्यावरणीय संकटप्रति चिन्ता व्यक्त गर्दै ती विषयमा तत्काल ध्यान दिनुपर्ने माग गरेका थिए।
प्रचण्डले बोहोराको अभियानप्रति सम्मान व्यक्त गर्दै यो अभियान माओवादी केन्द्रको नीति, विचार र आन्दोलनको spirit सँग मेल खाने बताएका थिए। उनले भने, “हामीले सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि केही पहल गरेका थियौँ, त्यो क्रम निरन्तर जारी राख्नेछौँ। तपाईंको अभियानले यसमा थप बल पु-याउने विश्वास लिएको छु।”
प्रचण्डले बोहोराको साहसिक प्रयासको प्रशंसा गर्दै देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणाली स्थापनाका लागि जनस्तरबाट यस्ता पहलहरू आवश्यक रहेको बताए। उनले बोहोरालाई अभियान निरन्तर अगाडि बढाउन सुझाव दिँदै आवश्यक सहयोग र समर्थन दिने प्रतिवद्धता पनि जनाए।
बोहोराले भने, "कर्णालीको नाममा राजनीति त धेरै भयो, तर त्यसअनुसार विकास हुन सकेको छैन। मैले पैदल यात्रा गरेर जनताको पीडा, अपेक्षा र आवाज लिएर केन्द्रसम्म ल्याएको हुँ।"
उक्त भेटमा दुबैले कर्णालीको समृद्धि, पारदर्शिता, शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरणीय संरक्षण र भ्रष्टाचारमुक्त प्रशासन निर्माणमा दीर्घकालीन नीति र प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।
नवराज बोहोराले काठमाडौं आइपुगेपछि विभिन्न राजनीतिक दलका नेताहरू, सरोकारवालाहरू र सञ्चारकर्मीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। उनका अनुसार आफू कुनै पार्टी वा संगठनमा आवद्ध नभई स्वतन्त्र नागरिकको हैसियतमा जनचासोका मुद्दा लिएर अघि बढेका हुन्।
उनको यो पहललाई सामाजिक सञ्जालमा पनि सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। बोहोराको सन्देशले विशेषगरी कर्णालीका जनताको ध्यान तानिरहेको छ, जहाँ विकासका चुनौतीहरू अझै गहिरो छन्।