काठमाडौँ। सांसद कान्तिका सेजुवालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्तुत गरेको बजेटमा असन्तुष्टि जनाउँदै कर्णालीलाई बजेटमा बेवास्ता गरिएको बताए।
प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत विनियोजन विधेयक, २०८२ को विभिन्न मन्त्रालयका बजेटसम्बन्धी शीर्षकहरूमाथिको छलफलमा उनले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजित बजेट आवश्यकताका आधारमा केन्द्रित नरहेको र क्षेत्रीय सन्तुलन नमिलेको बताए ।
“कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राम्रो भवन छैन । सिटीस्क्यान र एमआरआई मेसिन खरिदका लागि पनि बजेट विनियोजन गरिएको छैन । कर्णालीलाई किन विभेद गरिएको हो ?”, उनले प्रश्न गरेका छन् ।
सोही छलफलमा सांसद नारायणप्रसाद आचार्यले बजेट निर्माणको प्रक्रियामा पुनःविचार गर्नुपर्ने बताए । “योजना छनोट गर्ने एउटा मोडल बनाएर राम्रोसँग छलफल गर्नुपर्छ । सबै निर्वाचन क्षेत्रका जनप्रतिनिधिको संलग्नतामा योजना छनोट गर्नुपर्छ ।
सांसद देवप्रकाश तिमल्सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गर्ने बजेटमा निजगढ विमानस्थललाई प्रथामिकतामा नराखिएकामा आपत्ति जनाए। “पर्यटनमा सम्भावना राम्रो छ । उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ । मन्त्रीको क्षेत्रमा मात्र बजेट विनियोजनले प्रथामिकता पाएँ।
यसैगरी सांसद हर्कमाया विश्वकर्माले अघिल्ला वर्षका बेतिथि सुधार गरेर आगामी आवका लागि बजेट विनियोजन भएकाले पूर्वाधार विकासका साथै सामाजिक विकासलाई सँगै लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अर्का सांसद दिनेशकुमार यादवले आगामी आवका लागि विनियोजन गरिएको बजेटले मधेसलाई उपेक्षा गरेको र मधेसमा बाढी नियन्त्रणका लागि नदी तटबन्धको व्यवस्था नभएको, सिँचाइको व्यवस्था नभएकामा असन्तुष्टि जनाए ।
सांसद नैनाकला थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खुद्रा आयोजनामा पनि बजेट विनियोजन गरेकामा असन्तुष्टि जनाए । सांसद सपना राजभण्डारीले बजेट कार्यान्वयनमा चुनौती रहने भएकाले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
सांसद किरणकुमार साहले रौतहटका जनताले रुग्ण पुलका कारण समस्या भोग्नुपरेकाले बजेटमा उपेक्षा गरिएको बताए। त्यस्ता पुलहरू आगामी आवमा जसरी पनि सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन् । सांसद सुशीला थिङले आगामी आवका लागि विनियोजन भएको बजेटमा विभेद भएकामा असन्तुष्टि जनाए ।
सांसद शान्ति श्रेष्ठले बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि राज्यले प्राथमिकता दिएर उनीहरूलाई सरल जीवनमा फर्काउन प्रयास गर्नुपर्नेमा जोड दिए ।