काठमाडौँ । कर्णालीका विकास र सुशासनका मुद्दा बोकेर ३१ दिन खाली खुट्टा पैदलयात्रा गरेर काठमाडौं आइपुगेका नवराज बोहरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न असफल भएका छन्। सुर्खेतका बोहरा प्रधानमन्त्रीसँग भेट्ने मुख्य उद्देश्यसहित राजधानी आइपुगेका थिए, तर उनलाई प्रधानमन्त्री निवास बालुवाटारमै प्रहरीले रोक लगाएको हो ।
मंगलबार बिहान काठमाडौं आइपुगेका बोहरा प्रधानमन्त्री ओलीलाई व्यक्तिगत रूपमा कर्णालीमा भइरहेको अनियमितता, भ्रष्टाचार र विकासका समस्याबारे जानकारी गराउने लक्ष्यसहित बालुवाटार पुगेका थिए । तर सुरक्षाकर्मीहरूले उनलाई प्रवेश नदिई फर्काए ।
प्रधानमन्त्री निवासबाट फर्काइएपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगे । त्यहाँ पनि प्रधानमन्त्रीलाई भेट्न नपाएपछि उनले मुख्यसचिव एकनारायण अर्याललाई आफ्ना माग र मुद्दाबारे जानकारी गराएको प्रहरी स्रोतले जनाएको छ ।
सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग संवाद गर्न खोज्दा समेत बोहरालाई प्रहरीले अवरोध गरेको थियो । बोहरा जेठ ४ गते सुर्खेतबाट राजधानीको यात्रा सुरु गरेका थिए । उनले भ्रष्टाचारविरुद्धको जनचेतनामूलक अभियान र कर्णालीका नागरिकका आवाजलाई राष्ट्रिय तहमा पुर्याउने उद्देश्यसहित यो यात्रा गरेका हुन्। पैदल यात्रा क्रममा उनले कर्णाली क्षेत्रका विभिन्न समस्याबारे स्थानीयसँग संवाद गर्दै आएका थिए ।
बोहराले राजधानी आइपुगेपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भने, 'कर्णालीका आवाजलाई केन्द्रसम्म पुर्याउन ३१ दिनको पैदल यात्रा गरें। प्रधानमन्त्रीले त्यो आवाज सुन्नुहुन्छ भन्ने अपेक्षा थियो, तर आज म भेटविहीन फर्कनुपर्यो।'
उनको यो पहल सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ । धेरै प्रयोगकर्ताहरूले एक सामान्य नागरिकको सत्य र निस्वार्थ अभियानलाई राज्यले सुन्नु पर्ने भन्दै सरकारको आलोचना गरेका छन् ।
बोहराले भनेका छन्, 'कर्णालीमा गरिबी, बेरोजगारी, स्वास्थ्य, शिक्षा र पहुँचका ठूला समस्याहरू छन्। यी मुद्दा सरकारको टेबुलमा पुर्याउनु मेरो धर्म ठानें। म निराश छैन, फेरि पनि आवाज उठाइरहनेछु ।'