सुर्खेत। कर्णाली प्रदेशमा योजना बैंकमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) प्रदेश सभा बैठकमा सहभागी नहुने भएपछि दिउँसो ३ बजे बस्ने भनिएको सभा अनिश्चित बनेको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले बजेट निर्माण प्रक्रियालाई अपारदर्शी, एकलौटी र पूर्वाग्रही भन्दै प्रदेश सभा बैठक बहिष्कार गरेको छ। त्यसैका कारण आइतबार दिउँसो ३ बजेका लागि तय गरिएको प्रदेशसभा बैठक अनिश्चित बनेको हो।
माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारले ‘आयोजना बैंक’ का नाममा अपारदर्शी ढङ्गबाट बजेट निर्माण प्रक्रिया अघि बढाएको आरोप लगाए। उनले भने, “बजेटको आधार मानिएको आयोजना बैंक अझैसम्म सार्वजनिक गरिएको छैन, त्यसमा के–कस्ता योजना छन् भन्ने जानकारी कुनै पनि सांसद वा पत्रकारसँग छैन।” उनले बजेट निर्माणलाई ‘अवैध र चोर बाटो’ बाट ल्याइएको दाबी गर्दै सरकारले आफ्ना मनपर्ने योजना मात्र समावेश गरेको आरोप लगाए।
जिसीका अनुसार जिल्लास्तरीय समितिबाट सिफारिस भई मन्त्रालयसम्म पुगेका योजनालाई समेत बेवास्ता गरिएको छ। “सदनमा जब यसबारे कुरा उठाइयो, सरकारले प्रक्रिया मिलाउने आश्वासन दियो। तर पछि आफ्नै प्रतिबद्धताबाट पछि हट्यो,” उनले बताए।
यसै विवादका कारण कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत अवरुद्ध भएको छ। माओवादी दलका सांसदहरू बैठकबाट बाहिरिएका छन्। जिसीले भने, “यस्तो अपारदर्शी र विवादास्पद पृष्ठभूमिमा बनेको बजेटमा हाम्रो कुनै स्वामित्व हुँदैन, त्यसैले यस्तो बजेट संसद्मा प्रस्तुत हुन दिन सकिँदैन।”
अर्कातर्फ, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह भने बजेट ब्रिफकेस बोकेर संसद्मा पुगिसकेका छन्। उनले झण्डै ३१ अर्ब रुपैयाँको बजेट संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेका छन्। विशेषतः उनले यसपटक कर्णालीमै निर्मित अल्लोको झोलामा बजेट लिएर आउने निर्णय गरेका थिए। तर प्रमुख प्रतिपक्षको विरोधका कारण बैठक कहिले सुरू हुने भन्ने विषय अहिलेसम्म स्पष्ट छैन।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौड्यालले पनि बैठक सुरु हुन नसकेको पुष्टि गरे। “केही कुरा नमिलेको जस्तो देखिन्छ, अझै केही समय लाग्न सक्छ,” उनले संक्षिप्त प्रतिक्रिया दिए।
बजेटमार्फत प्रदेशका समग्र विकास योजना अघि बढाउने तयारी सरकारले गरिरहेको अवस्थामा यस्तो विवादले कर्णालीको राजनीतिक वातावरण तनावग्रस्त बनेको छ। अब बैठक कहिले बस्ने र बजेट प्रस्तुत हुने हो भन्ने अनिश्चितता अझै कायमै छ।