काठमाडौँ : एउटा मान्छेलाई धेरै कुरा जित्न धेरै समय लाग्दैन । निकै थोरै समयमा धेरै उपाधि जितेर उपलब्धी हासिल मान्छे छोटो समयमै महान बन्न सक्छ । तर एउटा मान्छेलाई महान बन्न धेरै समय लाग्छ । त्यसका लागि धेरै वर्ष उसले लड्नुपर्छ । भिड्नुपर्छ । जित्नुपर्छ । तर पनि ऊ ठूलो उपाधि जित्न सक्दैन । ऊ यति धेरै असफल साबित भएको हुन्छ कि मानौँ, जुन कुरा ऊ वर्षौदेखि गरिरहेको छ, जुन खेल ऊ वर्षौदेखि खेलिरहेको छ, त्यो खेलको फाइनल जित्न उसलाई झण्डै दुई दशक लाग्छ ।
यो सामान्य मान्छेले सहज तरिकाले सँधै गर्नै सक्दैन् । तर कोही महान बन्दैछ भने यही कुराले बन्न सक्छ । जो, एउटै प्रतियोगिता वर्षौवर्ष उत्कृष्ट खेलेर पनि अन्त्यमा हार्छ । अनि त्यही उपाधि उसले आफूले लगाएको जर्सी नं. १८ जस्तै प्रतियोगिताको १८ औँ सिजनमा उसले कहिल्यै जित्न नसकेको उपाधि जित्छ भने त्यो केवल खेलाडी होइन, ऊ महान हो । धेरैका लागि वर्षौवर्षौका लागि ।
हामी यहाँ १८ नं. भन्नेबित्तिकै विराट कोहलीका केही रोचक संयोग र सफलताको चर्चा गरिरहेका छौँ । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको यस सिजनको धेरै कुरा अहिले चर्चामा छ । यो चर्चाको सबैभन्दा ठूलो ठाउँमा विराट कोहली छन् ।
सन् २००८ मा विराट कोहलीले १९ वर्षमूनिको विश्वकप उपाधि जितेकै वर्ष भारतमा महंगो ब्राण्डको आइपीएल फ्रेन्चाइज सुरु भएको थियो । भारतले सन् २००७ मा पहिलोपटक टी–ट्वेन्टी विश्वकप जितेपछि आइपीएल क्रिकेट सुरु गरेको हो ।
यो प्रतियोगिता सुरु भएदेखि नै चर्चामा रह्यो । कारण, सबैभन्दा महंगो प्रतियोगिता थियो । अनि भारतमा क्रिकेट भनेपछि धेरैको होसह्वास उड्छ । सयौँ क्रिकेटरका पछाडि लाखोँ भारतीय दौडिएका हुन्छन् । यो प्रतियोगिताले उनीहरु सबैलाई एकै मालामा बाँधेको छ ।
र, यो प्रतियोगिताको सुरुदेखि चर्चामा रहेका क्रिकेटर कोहली हुन् । किनभने टी–ट्वेन्टी विश्वकप जितेपछि धोनीले चेन्नेईबाट उपाधि जिते । त्यो पनि उनले एकदिवसीय विश्वकप जितेकै वर्ष, सन् २०११ । फाइनलमा हार्ने अरु कोही नभएर विराट कोहलीकै टिम आरसिबी थियो ।

त्यसअघि नै कोहलीको टिम फाइनल पुगेको थियो । सन् २००९ मा फाइनल पुगेपनि कोहलीको टिम त्यतिबेला डेकेन चार्जरसँग पराजित भएको थियो । दुई फाइनल हारेपछि कोहलीलाई सन् २०१३ मा कप्तान बनाइयो । उनले सन् २०१६ मा टिमलाई फाइनलमा पुर्याएका थिए ।
तर त्यतिबेला थोरै अन्तरले डेभिड वार्नर कप्तानीको हैदराबादसँग कोहलीको टिम आरसिबी हारिदियो । त्यो बेला कोहली विश्व क्रिकेटका सबैभन्दा शक्तिशाली ब्याटर थिए । तीन फाइनल हार्दाको पीडा कोहलीका लागि मात्रै होइन, विश्वभर रहेका क्रिकेट फ्यान र खासगरी आरसिबीका लागि थिए ।
क्रिस गेल, एबी डिभिलियर्स, शेन वाट्सन जस्ता उत्कृष्ट खेलाडीका बाबजुद पनि कोहलीको कप्तानीमा रहेको आरसिबीले फाइनल हारेपछि धेरै जना स्तब्ध भए । त्यही वर्ष कोहलीले एकै सिजनमा सर्वाीधक चार शतक प्रहार गरेका थिए । आइपीएलमा एकै सिजन सर्वाधिक ९७३ रन बनाउने कीर्तिमान पनि उनकै नाममा लेखिएको थियो । उपाधि जितेको भए कोहलीका लागि त्यो नै विशेष वर्ष रहन्थ्यो ।
तर जे हुन्छ, राम्रैका लागि हुन्छ भनेजस्तो कोहलीले आफूले लगाएको १८ नं. को जर्सीमा आइपीएलको १८ औँ सिजनको उपाधि जिते । यसका लागि उनले आइपीएल्का १८ औँ सिजनसम्म उत्कृष्ट खेलिरहे । आइपीएलमा उनले सर्वाधिक ८ शतक लगाएका छन् । उनी आइपीएलमा सर्वाधिक ९ हजार रन पूरा गर्ने एक्ला क्रिकेटर हुन् । अनि आइपीएलमा सर्वाधिक चौका प्रहार गर्ने लगायत धेरै कीर्तिमान उनका नाममा छन् ।
आइपीएल ट्रफीसँगै उनले विश्व क्रिकेटमा उनले खेलेका सबै प्रतियोगिताका उपाधि जितेका छन् । औपचारिक रुपमा सन् २००८ देखि आइसीसीका प्रतियोगिता खेल्न सुरु गरेका उनले सन् २०२५ सम्म आइपुग्दा सबै व्यक्तिगत र टिमका लागि उपाधि जितिसकेका हुन् ।
उनले व्यक्तिगततर्फ १० वटा आइसीसी अवार्ड जितेका छन् । अहिलेसम्म कुनै पनि क्रिकेटरले यति धेरै अवार्ड जित्न सकेका छैनन् । उनी सन् २०२० मा दशककै उत्कृष्ट क्रिकेटर बनेका थिए । उनी टी–ट्वेन्टी, ओडीआई र टेस्टका पनि उत्कृष्ट ब्याटर हुन् । तीनै विधामा उनी नम्बर एक ब्याटर पनि भइसकेका छन् । उनले भारतका लागि टी–ट्वेन्टी विश्वकप, एकदिवसीय विश्वकप र च्यापियन्स ट्रफी उपाधि जितेका छन् ।
उनले टेस्टतर्फ लगातार तीन वर्ष भारतलाई नम्बर एक टेस्ट टिम बनाएर उपाधि जितेका थिए । वर्तमान ब्याटरमध्ये उनी सर्वाधिक ८२ शतकसहित महान ब्याटरहरुको सूचिको दोस्रो स्थानमा छन् । उनीभन्दा अगाडि सचिन तेन्दुलकर मात्रै छन् ।

क्रिकेटका सबै उपाधि जितेसँगै उनले टी–ट्वेन्टी र टेस्ट क्रिकेटबाट सन्न्याससमेत लिइसकेका छन् । अब उनले केवल एकदिवसीय क्रिकेट र आइपीएल मात्रै खेल्नेछन् । उनीसँग अब एउटा मात्रै ठूलो चुनौति बाँकी छ, त्यो हो, क्रिकेटका भगवान सचिन तेन्दुलकरको १०० शतकको कीर्तिमान तोडेर आफ्नो नाममा लेख्ने । त्यसका लागि उनीसँग एकदिवसीय क्रिकेटमात्रे विकल्प छ । जहाँ उनले अब १८ शतक हान्नुपर्नेछ ।
सन् २०२७ को विश्वकपमा ध्यान केन्द्रित गर्न र एकदिसवीय क्रिकेटको सबैभन्दा ठूलो खेलाडी बन्न पनि उनले ध्यान केन्द्रित गरेका छन् । सम्भावना चुनौतिपूर्ण भएपनि उनले १८ शतक हानेर सचिनको रेडर्क तोड्न सकेमा विराट कोहली विश्व क्रिकेटकै सबेभन्दा ठूलो नाम बन्नेछ ।
सायद, यो काम विराट कोहलीले मात्रै पूरा गर्नेमा उनका धेरै प्रसशंक विश्वस्त पनि छन् । यो कुरा सचिनले यसअघि नै भनिसकेका छन् । उनले आफ्नो रेकर्ड कोहलीले मात्रै तोड्ने सक्ने यसअघि नै बताइसकेका थिए ।
र, यो पनि पढ्नुहोस्ः
यसपटक कोहलीले आईपीएल ट्रफी जित्न सक्छन् ?