सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि पेश गरेको नीति तथा कार्यक्रममा भू–उपयोग, कृषि उत्पादन र ग्रामीण विकासलाई प्राथमिकता दिएको छ।
प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभाको छैटौँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “बसोवास गाउँमा, भविष्य आफ्नै ठाउँमा” अभियान लागू गरिने जानकारी दिए ।
कृषियोग्य जमिनको चक्लाबन्दी, सामूहिक खेती प्रवर्द्धन, बाँझो जमिनको सदुपयोग, र सहकारीमार्फत श्रम, सिप र पुँजीको परिचालन गर्ने नीति लिइएको छ।
दुर्गम क्षेत्रका युवालाई लक्षित गरी मागमा आधारित कार्यक्रम, वित्तीय साक्षरता, उद्यमशीलता विकास, र रोजगारी सिर्जनामा जोड दिइने भएको छ।
साथै, “स्वस्थ माटो, स्वस्थ बाली, स्वस्थ जीवन” अभियानमार्फत माटो सुधार र व्यावसायिक कृषि प्रवर्द्धन गरिने नीति कार्यक्रममा उल्लेख छ ।