काठमाडौं। विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड प्रथम महामञ्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको तीन फरकफरक विधामा च्याम्पियन भएका छन् ।
महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा नागर्जुन नगरपालिका वडा–५ मा सम्पन्न प्रतियोगितामा विल्सन सिनियर ब्वाइजमा, चाँदबाग गल्र्समा र ग्रिनफिल्ड जुनियर ब्वाइजमा च्याम्पियन भएका हुन् । सीतापाइलास्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनल विल्सन एकेडेमीले टिआईएलाई १७–१४ स्कोरले हरायो ।
गल्र्सको फाइनलमा चाँदबागले त्रिज्योतिलाई १०–८ स्कोरले हराउँदै उपाधि उचाल्यो । जुनियर ब्वाइजमा ग्रिनफिल्डले फाइनलमा इडन ब्रिजलाई १०–८ ले हराउन सफल भयो । यस प्रतियोगितामा सिनियर ब्वाइजमा ग्रिनफिल्डका रिधाम नगरकोटी, जुनियर ब्वाइजमा विल्सनका अनुप मगर र गल्र्समा चाँदबागकी अमलिका खड्का मस्ट भ्यालुएबल प्लेअर भए ।
प्रतियोगितामा प्लेयर प्ले अवार्ड सिनियर ब्वाइजमा माइलस्टोन, जुनियर ब्वाइजमा मनास्लु स्कुल र गल्र्समा आर्या एकेडेमीले प्राप्त गरेका महामन्जुश्रीकी प्रशिक्षक शैलेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार राइजिङ टिमअन्तर्गत सिनियर ब्वाइन क्यानभास, जुनियर ब्वाइज शिसु निकुञ्ज र गल्र्समा नवीनज्योतिले सफलता पाए ।
प्रतियोगिताका विजेतालाई नागर्जुन नगरपालिका वडा–५ का अध्यक्ष महेश रिमाल, महामञ्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनी र भाइस प्रिन्सिपल हेमलता चाम्लिङलगायतले पुरस्कृत गरेका थिए । महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा लिगकम नकआउट आधारमा दुई दिनसम्म भएको प्रतियोगिता गत बिहीबारदेखि सुरु भएको थियो ।
प्रतियोगितामा तीन विधामा विभिन्न ४१ विद्यालयका ६३ टोलीले प्रतिस्पर्धा गरेको महामन्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनीले जानकारी गराए । सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गल्र्समा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रिन्सिपल मरासिनीले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न र प्रतिभावन खेलाडीको पहिचान गर्न यस किसिमको प्रतियोगिता निरन्तर रूपमा आयोजना गर्ने बताए ।