सुर्खेत । वीरेन्द्रनगरमा लैङ्गिक न्याय, महिला प्रजनन स्वास्थ्य, उद्यमशीलता र लैङ्गिक अल्पसंख्यकका मुद्दामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। फिनल्यान्ड सरकार, यूएन वुमन र टेवा संस्थाको सहयोगमा आवाज संस्थाले उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा स्थानीय सरकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कानुनी निकायका प्रतिनिधिसँग महिलाहरूबीच बहुआयामिक संवाद भएकाो आजाव संस्थाले जनाएको छ । प्यानलमा नगर उपप्रमुख निलकण्ठ खनाल, वडा अध्यक्ष टिकाराम शर्मा, सहायक जिल्ला न्यायधिवक्ता सिर्जना ढकाल, प्रहरी निरीक्षक दिनेश तिमिल्सेना र मेडिकल अधिकृत दिप्ती सिंह ठकुरी सहभागी थिए।
उनीहरूले लैङ्गिक उत्तरदायी बजेट, हिंसा नियन्त्रण, स्वास्थ्य सेवा सुधार र कानुनी पहुँचको विषयमा आफ्ना धारणा राखे । सहभागी महिलाहरूले प्रजनन स्वास्थ्य सेवाको गुणस्तर, उद्यमशीलतामा पहुँच, र हिंसाका मुद्दामा निष्पक्षता सुनिश्चित गर्न माग गरे ।
कार्यक्रममा उठेका सुझावहरू संकलन गरी सम्बन्धित निकायमा बुझाइने आवाज संस्थाले जनाएको छ।